२०७७ मंसिर १०, बुधबार

यो हिउँद पनि त्रिपालमै

सुर्खेत, १४ मंसिर ।  चिसो बढेसँगै आङ ढाक्ने कपडासमेत नभएका सुर्खेतका बाढीपीडितको कष्ट फेरि शुरु भएको छ । घरभित्रको न्यानो कोठामा सुत्ने सपना बाढीपीडतहरुको यो जाडोमा पनि पूरा भएन । राहतको आडमा बाँचेका प्रलयको सिकार पीडितहरू स्थायी समाधानको प्रतीक्षामा शिविरको छेउछाउ टोलाइरहेका भेटिन्छन् । त्रिपालमुनिको बासले पीडित परिवारमा बिचल्ली छ । पालमुनि रहेका पीडित परिवारका बालबालिका र वृद्धवृद्धा चिसोले बिरामी पर्न थालेका छन् ।

‘तीन हिउँद र दुई बर्खा यही पालमा बिताइयो,’ दर्जनौं ठाउँमा भ्वाङ परेको त्रिपाल देखाउँदै वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएकी मैसरा थापाले भनिन् । बाढीपीडितहरु वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, गिरीघाट, तिखाकुना र छिन्चुमा अस्थायी टहरामा छन् ।

सरकारले पुनःस्थापनातर्फ चासो नदिँदा पीडितहरुको दैनिकी कष्टकर बन्दै गएको हो । महिला प्रशिक्षण केन्द्रकै शिविरमा बस्ने जीतबहादुर सुनारलाई सरकारले पुनःस्थापना गर्ला भन्ने विश्वास लाग्नै छाडेको छ । उनी भन्छन्, ‘तीन वर्ष बित्यो, अहिलेसम्म आश्वासन मात्रै पाइयो । न गतिलो राहत पाइयो न त पुनःस्थापना नै भयो ।’ नेताहरूले बाढीपीडितको नाममा राजनीति गरेको उनले बताए । आश्वासन धेरै पाएका बाढीपीडितलाई यतिबेला फेरि भोट माग्न र उस्तै आश्वासन बाड्न नेताहरु शिविरमा पुग्ने गरेका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दैनिकजसो नेताहरु आउने गरेपनि उनीहरुलाई चुनावी रौनकले छुन सकेको छैन । स्थानीय तह निर्वाचनका बेला राजनीति दलहरुले गरेका बाचा पूरा नभएपछि बाढीपीडितहरु निराश छन् ।

बाढीपीडित संघर्ष समिति उपाध्यक्ष ललितबहादुर शाहीले सुशील कोइरालादेखि अहिलेको सरकारसम्म आउँदा राहत र पुनःस्थापनाको प्याकेज गफमै सीमित रहेको बताए । तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले निजी घर पुनर्निर्माण अनुदान भूकम्पपीडितसरह दिने निर्णय गरेको थियो । ०७१ चैत १३ को मन्त्रिपरिषद् बैठकले जग्गा नभएकालाई किन्न प्रतिपरिवार ५० हजार तथा घर निर्माणका लागि तीन किस्तामा ७५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । जिल्ला प्रशासनले सहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा विस्थापितका लागि घरजग्गा खरिदसम्बन्धी प्रक्रिया थाले पनि त्यसले अझै पूर्णता पाएको छैन । सरकारी घोषणा कार्यान्वयन नहुँदा तीन वर्षदेखि बाढीपीडितहरु पालमै बस्न बाध्य छन् ।

महिला प्रशिक्षण केन्द्रकै शिविरको त्रिपालमुनि बस्दै आएकी ७३ वर्षिया देविसरा सुनारले सरकारले कतै बस्नलाई एक चोक्टो जग्गा दिन्थ्यो की भन्ने आश गर्दागर्दै बर्षौं बितिसकेको दुखेसो पोखिन् । अहिलेसम्म आश्वासन मात्रै बाडेका राजनीतिक दलहरुको विस्थापित प्रति ध्यान गएको देखिंदैन । घर–आँगन र खेतबारी सम्झदै त्रिपालमुनी दिन बिताइरहेका विस्थापितहरु भने गहिरो चिन्तामा डुबेका छन् ।

०७१ साउन २८ र २९ गते जिल्लाका विभिन्न भागमा आएको भीषण बाढी र पहिरोले १ सय १५ को ज्यान लिएको थियो । १४ सय ६५ घर पूर्ण क्षति भए भने ८ सय ६७ आंशिक क्षति हुन पुगे । सयौं परिवार बिचल्लीमा परे । हजारौं हेक्टर खेतबारी भेरी नदीले बगरमा परिणत गराएपछि थातथलो छाडेर स्थानीय जंगल क्षेत्रमा सहारा लिन पुगेका थिए ।