२०७७ मंसिर १७, बुधबार

कंडेललाई सघाउन खड्का चुनावी अभियानमा

सुर्खेत, १४ मंसिर । सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा वामपन्थीका साझा उम्मेदवार यामलाल कंडेललाई चुनावी अभियानमा साथ दिन प्रतिष्ठित व्यवसायी सूर्य बहादुर खड्का वीरेन्द्रनगर आएका छन् । वाम गठबन्धनका उम्मेदवारलाई जिताउन खड्का घरदैलो अभियानमा समेत सहभागि भएका छन् ।

बुधबार वीरेन्द्रनगर–५ को घरदैलो अभियानमा कंडेलसंगै मतदातासंग भोट माग्न पुगेका व्यवसायी खड्काले वामपन्थीको सरकारले मात्रै देशमा समृद्धि ल्याउन सक्ने बताए । व्यवसायी खड्काले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता भएकाले वामपन्थीका साझा उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह समेत गरे ।

प्रदेशसभाका उम्मेदवार कंडेलले अहिले मुलुकमा भएका विकास कार्यलाई तीव्ररुपमा अगाडि बढाउन र प्रदेश नं. ६ को समग्र विकासका लागि वाम शक्तिलाई बहुमत प्रदान गर्न जनतालाई आग्रह गरे । लामो राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेसले वाम गठबन्धन भएपछि अत्तालिएर अब अधिनायकवादको उदय हुने भ्रम फैलाएको उनले बताए ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका कंडेलले मुलुकमा औद्योगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने र देशलाई समृद्ध बनाउने प्रष्ट दृष्टिकोण वाम गठबनधनसंग मात्रै भएको जिकिर गरे । खड्का संगै वामपन्थी गठबन्धनको घरदैलो अभियानमा कांग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष प्रेमकुमार पन्तलगायत कांग्रेसका सक्रिय सदस्य कुल बहादुर विसी पनि छन् । पन्त र विसी कांग्रेस परित्याग गरी बुधबारदेखि वामपन्थी गठबन्धनको चुनावी प्रचारमा लागेका हुन् ।