२०७७ कार्तिक ५, बुधबार

अपाङ्गता भएकाहरुलाई सम्मानजनक वातावरण आपसमै खेलकूद प्रतियोगिता

सुर्खेत, मंसिर १६ । २६ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न खेलकूद कार्यक्रम सम्पन्न गरिएको छ । सिबिएम र आईएनएफको साझेदारीमा अपाङ्ग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले खेलकूद प्रतियोगिता सम्पन्न गरेको हो । बेलुन फुटाउने, तातो आलु, चक्लेट टिप्ने र रिले दौड प्रतियोगिता गरिएको प्रतियोगितामा सुर्खेतको विभिन्न स्थानका अपाङ्गता भएका १९ जना बालबालिकाको सहभागिता थियो । जसमा बेलुन फुटाउने खेलमा पुष्पा चौधरी प्रथम, द्वितीय कृशा विक र तृतीय शोभा बुढा भएकी छन् ।
त्यस्तै, तातो आलु खेलमा भावना घर्ती पहिलो, लक्ष्मी खत्री दाश्रो र गणेश खत्री तेश्रो भए । चक्लेट टिप्ने खेलमा मरिचमान सुनार प्रथम, तुल्सी पंगाली द्वितीय र प्रकाश बुढा तृतीय साथै रमेश रास्कोटी सान्त्वना भए भने रिले दौड प्रतियोगितामा दिपेश सुनार, पुष्पा पुरी र समिक्षा वली प्रथम, लक्ष्मी विक, चन्द्रा जैशी र कर्ण सुनार द्वितीय भएका छन् ।

त्यस्तै, लक्ष्मी वली, सन्दीप डाँगी, गोपाल कँडेल तृतीय र रमेश रास्कोटीले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेलाई मेडलसहित सम्मान गरिएको थियो । प्रतियोगितामा सुर्खेतको उत्तरगंगा, लाटीकोईली, छिञ्चु, कल्याण र दशरथपुरका अपाङ्गता भएका बालबालिकाको सहभागिता थियो ।

यसैबिच, खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय, सुर्खेतका प्रमुख महिला अधिकृत जमुना पौडेलले अपाङ्गता भएका बालबालिकालाई दया नभई अवसरको खाँचो भएको बताईन् । सम्मानजनक अवसर पाएमा अपाङ्गता भएकाले पनि अन्य व्यक्ति सरह नै काम गर्न सक्छन् भन्ने देखाउनका लागि यो प्रतियोगिता कोसेढुङ्गा साबित भएको उनको भनाइ छ । अपाङ्गता भएका बालबालिकाको विकासका लागि घरदेखि सार्वजनिक स्थलसम्म सम्मानजनक वातावरण, बोली र व्यवहार हुनुपर्ने पौडेलको भनाइ छ ।

त्यस्तै, अपाङ्ग सशक्तिकरण मञ्च (डेक)का अध्यक्ष विष्णुप्रसाद शर्माले पनि अपाङ्गता भएका बालबालिका आफैभित्र पनि हिनताबोध भएकाले यसलाई हटाउनका लागि खेलकूद कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा बोल्दै अपाङ्ग महिला समाज, सुर्खेतका अध्यक्ष धनसरा शाहीले प्रतिस्पर्धा गर्ने क्षमताको विकासका लागि यस्ता कार्यक्रमहरु बढीभन्दा बढी गर्न आवश्यक रहेको बताइन् ।  अपाङ्गता भएका बालबालिकालाई अवसर र हौसला दिने हो भने साँच्चिकै अन्य व्यक्तिजस्तै गरी अगाडि बढ्न सक्ने उनको भनाइ छ ।