२०७७ कार्तिक ११, मंगलवार

पर्यटकीय क्षेत्रको विकासमा प्रतिबद्ध छौ : वाम उम्मेदवार

सुर्खेत, १७ मंसिर । वाम गठबन्धन क्षेत्र नम्बर २ का उम्मेदवारले पर्यटकीय क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै घरदैलोलाई तीव्र पारेका उम्मेदवारहरुले शनिबार वीर्न्द्रनगरमा घरदैलो गर्दै पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन् । क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज रावतले निर्वाचन पश्चात पर्यटकीय विकासका लागि रातादिन लाग्ने बताएका छन् ।

उनले काँक्रेविहारको प्रचार–प्रसार, संरक्षण संवद्र्धन गरी अन्तराष्ट्रियस्तरको पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए । मठ, मन्दिर, गुम्बा, चर्च, विहार, मस्जितको संरक्षण गरिने भन्दै उनले वाम गठबन्धनलाई निर्वाचनबाट नेतृत्व गर्ने अवसर दिन आग्रह गरे । प्रदेश सभा क्षेत्र नम्बर–२ (क) का उम्मेदवार यामलाल कंडेलले जिल्लाका प्रमुख पर्यटकीय क्षेत्र बुलबुले गढी, घण्टाघर, भेरी पुल, देउती बज्यै, सिद्धापाईला, जलेश्वर,मन्दिर, रानीघाट आदी स्थललाई धार्मिक तथा पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरिने बताए । वीरेन्द्रनगरदेखि गढीसम्म पैदल एवम् पर्यटकीय मार्गको विकास गरिने, होमस्टेको विकास गरिने एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।

चक्रपथको यथाशीघ्र निर्माण तथा सञ्चालन गर्ने, अटोभिलेज र नगर बस सञ्चालनक, आधुनिक बसपार्क निर्माण तथा पार्किङ्ग स्थलको व्यवस्थापन गर्नेलगायतको एजेण्डालाई प्राथमिकतामा राखेका छन् । आसन्न निर्वाचनमा नेतृत्वदायी भूमिकामा रहेर सुविधा सम्पन्न सिटी अस्पताल स्थापना गर्ने, उपयुत्त स्थलमा क्रिकेट खेलमैदानको व्यवस्था गर्ने, सुविधा सम्पनन कवर्डहल निर्माण गर्ने, सुर्खेतको औधोगित्क क्षेत्रलाई प्रदेशमा प्राप्त कृषि, जल, पर्यटक, वन, जडिबुटी, खानीमा आधारित बनाई रोजगारीमूलक बनाउनेलगायतका एजेण्डाका साथ चुनावी अभियान तीव्र पारिएको जानकारी दिए ।

उनले सुकुम्वासीहरुका लागि लालपूर्जाको व्यवस्था तथा एकीकृत बस्ती विकास गर्ने, शित भण्डार, उन्नत बीउ विजन, कृषिको औद्योगिकरण व्यवसायीकरण, बजारीकरणको व्यवस्था गर्ने, स्थानीय भाषाहरुको साहित्यकला संस्कृतिको संरक्षण सम्वद्र्धन गरी अन्तराष्ट्रियस्तरको पर्यटकीय स्थलको विकास गर्ने बताएका छन् । घरदैलो अभियानका क्रममा वाम गठबन्धनप्रतिको विश्वास नै जीतको आधार भएको उनको भनाई छ । प्रदेशस्थापनाका लागि आफ्नो भूमिका गहन रहेको भन्दै निर्वाचनका क्रममा आश्वासन मात्रै नभई वीरेन्द्रनगरलाई प्रदेशको नमूना राजधानी बनाउने उनको दावी छ ।

निर्वाचन नजिकिदै गर्दा वाम गठबन्धनले सुर्खेतमा चुनावी अभियानलाई तीव्र पारेको छ । शनिवार नै सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेद्वार धुर्वकुमार शाहीले क्षेत्र नम्बर १ को विकासका लागि वाम गठबन्धनको जीत आवश्यक रहेको बताएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ मा भएको वामगठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विगतका समयमा जितेका दलहरुले विकासलाई गति दिन नसकेको भन्दै आगामी चुनावमा जनताले वाम गठबन्धनलाई जिताए विकासले फड्को मार्ने शाहीले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेशसभा क्षेत्र नम्बर १ क का उम्मेद्वार ठम्मर विष्टले पनि यसपटकको चुनावमा वाम गठबन्धनको विकल्प अरु कुनै पनि पार्टी नभएको बताए । आफुलाई जनताले आगामी चुनावमा जिताए क्षेत्र नम्बर १ लाई समृद्ध बनाउनका लागि त्यस क्षेत्रका श्रोत साधनको प्रयोग गरी विकासलाई अघि बढाईने धारणा राखे ।