२०७७ मंसिर १७, बुधबार

आत्म प्रतिविम्बन र दीर्घ जीवन

यात्राको क्रममा क्यामरा हरायो । क्यामरा हराए पनि करिव पाँच वर्षदेखि त्यही क्यामेराले खिचेका फोटोहरु मसँग ब्रगेल्ती छन् । हार्ड डिस्क र ल्यापटपमा अटाइनअटाइ हुनेगरी भरिभराउ छन् । फोटोहरु राख्ने ठाउको अभाव महसुस हुँदा डिलीट गर्नुपर्ने फोटोहरु खोज्दा पनि कुनै पनि फोटोहरु डिलीट गर्न यो मनले मानिरहेको छैन । यस्तो लाग्दैछ कि ती हरेक फोटोहरु ऐतिहासिक महत्व बोकेका छन् ।

कहिलेकाही त यस्तो पनि लाग्छ, मेरो क्यामेराले काम नलाग्ने फोटो खिच्न मान्दै मान्दैनथ्यो र जान्दै जान्दैनथ्यो । तथापि अव त्यो क्यामेरा मसँग छैन, उसले गरेका रङ्गीन फोटोरुपि किर्तिहरु मात्र मसँग छन् । क्यामेराले छोडेर गएका रङ्गीन फोटोहरु अवलोकन गर्दा लाग्ने गर्दछ मेरो जीवन यसरी रङ्गीन बनाउनुमा त्यो क्यामेराको ठूलो भूमिका छ । लाग्छ मेरो क्यामरा पनि थुप्रै असल फोटोहरु खिच्दाखिच्दै शहीद भयो । उ अव सशरीर मसँग रहेन । उसले गरेका असल किर्तिहरु मात्र बाँकी छन् अव मसँग ।

कहिलेकाही त यस्तो लाग्छ हामी आम मान्छेभन्दा त त्यही मेरो क्यामरा नै महान रहेछ क्या रे । सबै मानिसका कीर्तिहरु सम्झनलायक हुदैनन् । सबै मानिसका योगदानहरु प्रसंसायोग्य पनि हुदैनन् । कतिपयको जीवन त शबसँगसँगै समाप्त हुन्छ । कतिपयका कर्महरुले त पछिल्लो पुस्तालाई समेत चोट र पीडा दिएर अलपिने गर्दछ । तर मेरो क्यामेराले त्यसो गरेन । आफू अलप भएर गए पनि बग्रेल्ती सम्झनाहरु छोडेर गएको छ एउटा महान शहिदले जस्तै । पछिसम्म सम्झनका लागि जीवनका विभिन्न कालखण्डका अनुभूति र प्रतिविम्बहरु उपहार दिएर गएको छ यौटा महामानवले जस्तै ।

आत्म समीक्षा गर्दै जाँदा यस्तो लाग्छ, मैले यौटा क्यामराले गर्न सक्ने सम्झनलायक काम पनि यो धर्तिमा गर्न सकिरहेको छैन । एकतिहारका निम्ति फूलेका सयत्रपत्रीका फूलहरु त्यही तिहारका निम्ति बारीका डिल र पाटाहरुमा सकिए झै सायद म पनि मेरो भौतिक समाप्तिसँगै क्रमशः धमिलिदै जान्छु होला मानिसका सम्झनाका तरेलीहरुबाट । म रहँदा मलाई सम्झने मनहरु पनि स्मसानघाटको कालो धुवाको मुस्लोसँगै अनन्ततिर हराउदै जान्छन् होला कहिल्यै नफर्किने गरी ।

स्मृतिका खेत र आलिहरुमा विचरण गर्दै गर्दा यस्तो लाग्छ कि म यौटा केही हजार रुपैयाँ पर्ने क्यामेरा जति पनि अमरत्व नभएको प्राणी रहेछु । मेरो अस्तित्व घाटबाट मलामी फर्कदा समेत उनीहरुसँग फर्कदैन होला । कतिपय मानिसहरुले मलाई माया गर्छौ भनेर मायाको चिनो लेखेर उपहार दिएका छन् । यस्तो लाग्छ ती मानिसहरुले मायाको चिनो दिए सँगसँगै उनीहरुले गर्ने माया पनि त्यही चिनोसँगै फिर्ता भइसक्यो मलाई । उनीहरु सम्झदैनन् मलाई ।

म पनि अरुका स्वार्थखातिर बज्ने घण्टीहरुसँग भलाकुसारी गर्दागर्दै सम्झन भ्याउदिन तिनीहरुलाई । कहिलेकाही त लाग्छ मैले पाएका मायाका चिनोहरु नै मेरो माया र सम्झनाका चिहानहरु हुन् । यसरी मायाका चिनोहरु मायाका चिहानहरुमा अनुवाद हुदै जान थालेपछि वर्षौ काम लाग्ला भनेको मानिस पनि भेट हुँदा कतै देखेँ कि झै मात्र बाँकी रहदोरहेछ । साँच्ची कमिलाको ताँती जस्ता मानिसहरुको भीडमा यौटाले अर्कोलाई सम्झन त गाहे छ नै । त्यसमा पनि आफ्नो लागि मात्रै भौतारिरहने मानिसहरुको जीवन झनै छोटो र साँगुरो हुदोरहेछ छिचिमिराको जीवन जस्तै ।
दक्षिण कोरियाली नागरिक एवम् पर्वतारोही उम हङ गीलले आफूले १६ वटा हिमाल आरोहण गरेको उपलक्ष्यमा आफ्नो टिमले नेपालका १६ वटा विद्यालयहरुको भवन र सामग्री वितरण गर्ने लक्ष्य राखेका छन् । एघारौं विद्यालयको रुपमा उनको टिमले मुक्त कमैया आधारभूत विद्यालय, जनतानगर, बर्दियाको चिटिक्क परेको भवन निर्माण गरेका छन् । त्यति राम्रो भवन बनाइदिएका कारण त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु मक्ख छन् उनी र उनको टिमप्रति । अमरत्व प्राप्त गर्ने यो पनि यौटा तरिका रहेछ, आफ्नो गासबाट केही जोगाएर अरुका निम्ति केही गर्ने । उम हङ् गीलको नेतृत्वमा धेरै कोरियालीहरुको साथ र सहयोगले सङ्कलन भएको रकमबाट बनेको सुन्दर विद्यालय भवन देख्दा उम हङ गील र उनको टिम धेरै वर्षसम्म यो क्षेत्रका मानिसहरुको दिलमा बसिरहन्छन र बाँचिरहन्छन् जस्तो लाग्छ एउटा अमरत्वप्राप्त व्यक्तिको रुपमा ।
हाम्रा हजुरबाले पनि उम हङ गीलले जस्तै अमरत्व प्राप्त गर्नका लागि जीवनको सारा शक्तिलाई समर्पित गरेर सम्पत्ति जोडे । तथापि हाम्रा हजूरबाको सपना पूरा भएन । हजुरबा मृत्यसैयामा पल्टिएर उनले फेर्ने श्वासप्रश्वास प्रक्रियाको काउण्टडाउन सुरु हुदा बाबाहरु आँगनमा बसेर हजुरबाले कमाएको सम्पत्तिमा कसले बढि दारानङ्ग्रा गाड्ने भनेर कलहको सिलान्यास गर्दछन् । सम्पत्ति कति पाउने भनेर सुनिश्चित नभएपछि हजुरबाको काजक्रियामा समेत बाबाहरु खुलेर खर्च गरेनन् । यसरी हाम्रा हजुरबाबाहरुको अमरत्व मसानघाटसम्म पनि पुग्न नपाउदै सकियो । भौतिक सम्पत्ति आफैमा अमरत्व र कलहको परिचायक होइन रहेछ ।

यसलाई कसका लागि र कसरी प्रयोग गर्ने भन्ने कुराले यो सम्पत्ति अमरत्व र कलह के को परिचायक हुने भन्ने कुराको छिनोफानो हुँदोरहेछ । हामी धेरै मानिसहरु सम्पत्ति कमाएर त्यसबाट अमरत्व प्राप्त गर्ने भन्दा पनि कलहको बीउ रोप्ने धन्दा गर्दा रहेछौं । यस्तो अवस्थामा हामी सम्पत्तिको मालिक होइन कि सम्पत्तिको चौकिदार भएर बाँच्दा रहेछौं । आज धेरै मानिसहरु सम्पत्तिको चौकिदार भएर बाँचिरहेका छन् न कि उम हङ गील भएर ।

संसारका धेरै मानिसहरु आफूभन्दा फरक विचार राख्नेहरुलाई आफ्नो ठान्दैनन् । गल्ती औल्याएको त उनीहरु गाली सम्झिन्छन् । सुधारका लागि सुझाव दिए पनि सुझावलाई सम्मान गर्नु भनेको आफू कमजोर भएको महसुस गर्दछन् । यस्ता मानिसहरु अरुबाट प्रशंसा मात्रै चाहन्छन् । उनीहरुको यस्तै हविगतका कारण प्रगति गर्न सक्दैनन् । समय अनुसार आफूलाई परिवर्तन पनि गर्न सक्दैनन् । फलस्वरुप हरेक हिसावले अवसान कुरेर बस्नु बाहेक उनीहरुको निम्ति अर्को विकल्प हुदैन । विश्वका कतिपय तानाशाहहरुको अवस्था यसरी नै गुज्रने गर्दछ । बाहुबलको भरमा ठालू भएका कतिपय मानिसहरुको दिनचर्या पनि यस्तै हुने गर्दछ । अरुलाई कमजोर र आफूलाई के के न महान ठान्नेहरुको हालत पनि यही बाटो भएर अन्त हुने गर्दछ ।

जीवनमा भौतिक र आत्मिक दुवै किसिमबाट दीघ जीवन बाच्ने मानिसहरु अरु भन्दा अलि फरक तरिकाले बाँच्दछन् । त्यस्ता मानिसहरु आफ्नो गुरु आफै भएर बाच्न प्रयत्न गर्दछन् । आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप गरेर होइन कि सार्वजनिक गरेर त्यस्ता कमीकमजोरीलाई नदोहो¥याउने प्रतिबद्धता गर्र्दै अघि बढ्ने गर्दछन् । गल्ती दोहो¥याउदैनन् । कसैले गल्ती औल्याइदियो भने गुरु सम्झेर नतमस्तक हुन्छन् । आफूले गरेको काम कस्तो भयो भनेर आफैले पनि फर्केर हेर्छन् । मैले गर्न खोजेको के थियो ? उपलब्धि के भयो ? उद्देश्य र उपलब्धि बीचको फरक कति भयो ? फरक किन भयो ? आगामी बाटो के हुने ? आदि विषयमा घोत्लिन्छन् र आफूलाई सुधार गर्दै निरन्तर अगाडि बढ्छन् । सुधारका लागि प्रयत्नरत मानिसहरु यसैलाई आत्म प्रतिविम्बन भन्छन् र यसैलाई आफ्नो सुधार र उन्नयनका लागि अचुक ओखतिको रुपमा प्रयोग गर्दै अघि बढ्छन् । यस्तै मानिसहरु उम हङ गील भएर साना नानीहरुलाई रङ्गीन सपना देख्न प्रेरित गर्दछन् ।

आत्म प्रतिविम्बनको माध्यमबाट अघि बढ्ने व्यक्तिहरु आफ्नो व्यवहार र क्रियाकलापहरुको सकारात्मक वा नकारात्मक प्रभाव अरुको व्यवहारमा खोज्दछन् । आफूले बोल्दा वा व्यवहार गर्दा अरुले अनुहार विगा¥यो वा मन दुखायो भने आफ्नो त्यो व्यवहारलाई फेरि नदोहो¥याउने गरी सच्याउछन् । आफ्नो कारणले अरुमा खुशी देखियो भने सफल र पीडा देखियो भने असफल भएको महसुस गर्दछन् यस्ता मानिसहरु । आफ्नो कारणले अरुमा भने जति सफलता हात परेको देखिएन भने आफ्ना योजना र क्रियाकलापहरुलाई पुनरावलोकन गर्दछन् ।

उदेश्य र अपेक्षाहरु पुनरावलोकन गर्दछन् । नीति, रणनीति र कार्यक्रमहरु बदल्छन् । आवश्यकतानुसार व्यवहार र क्रियाकलापहरु बदल्छन् । यस्ता मान्छेहरु काम गर्दै सिक्दै अघि बढ्छन् । जीवनभर सिक्छन् र आफ्नो जीवनलाई अरुले सिक्नका लागि एउटा महत्वपूर्ण स्रोत सामग्रीको रुपमा विकास गर्दछन् । यस्तै जीवनहरु अनन्तसम्म यो धर्तिमा बाँचिरहन्छन् । मेरो हराएको क्यामेराले भन्दा पनि धेरै गुना बढि बाँच्छन् त्यस्ता जीवनहरु ।

पीडा दिने मानिसहरु आफू बाँचुञ्जेलसम्म त अरुलाई पीडा दिन्छन् नै त्यस्ता मानिसहरु आफु मरिसकेपछि पनि पीडा दिन्छन् भन्दै एकजना साथीले सुनाएका थिए, ‘बाँच्दासम्म दुनियालाई दुःख दिएको एकजना मानिस जीवनको अन्तीम चरणमा पुग्दा वरपरका मानिसहरु भित्रभित्रै खुशी भएछन् अव योबाट मुक्ति पाइने भयो भनेर । उसले आफू मर्ने भएपछि वरपरका मानिसहरुलाई बोलाएर भनेछ – ‘म त मर्ने भइहालेँ । हाम्रो चलनमा मानिस मरेपछि शबको छाति चिरेर त्यही छातिबाट लठ्ठी वारपार बनाइ बोकेर घाटमा लिनुपर्छ, मलाई पनि त्यसै गरिदिनु । उ मरेपछि छरछिमेकले त्यसै गरेर घाट लिन थाल्दा उनीहरुलाई हत्याको अभियोग लागेछ र जेल परेछन् विचराहरु । यस्ता प्रबृत्तिहरु देशमा, समाजमा, घरमा र अफिसमा अहिले पनि भेटिने गर्दछन् ।

यस्ता प्रबृत्तिहरु निमिट्यान्न नहुनुमा उनीहरुको त दोष त छ नै, उनीहरुका विरुद्धमा धावा बोल्न नसक्ने हामी सज्जन कहलिएकाहरुको पनि त्यत्तिकै दोष छ । साँच्ची यस्ता दुष्ट मानिसहरुको विरुद्धमा धावा बोल्नका लागि सज्जन कहलिएका मानिसहरुले कहिले हिम्मत गर्ने होलान ? साँच्ची यो दुनिया दुष्टविहीन र महामानवहरुले भरिएर खुशीखुशीले रङ्गीन कहिले हुने होला ? अनि क्यामराले भन्दा आम मानिसले यो दुनियाले पछिसम्म सम्झिने गरी काम गर्ने समय कहिले आउने होला ?