२०७७ कार्तिक १०, सोमबार

सांसद खड्क बहादुर खत्रीका यस्ता छन् विकासका प्राथमिकता

सुर्खेत, पुस ५ ।  सुर्खेत जिल्ला क्षेत्र १ प्रदेश सभा ‘ख’तर्फ वामगठबन्धनका उम्मेदवार रहेका एमाले नेता खड्कबहादुर खत्री ४ हजार बढी मतान्तरले विजयी बनेका हुन् । निर्माण व्यवसायी समेत रहेका खड्क बहादुर खत्रीले २१६२१ मत पाउँदा नेपाली कांग्रेसका झकबहादुर डाँगी १७७२८ मत पाएका थिए । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)का केन्द्रीय सदस्य पनि रहेका नवनिर्वाचित खड्क बहादुर खत्री चुनावलगत्तै आफ्नो क्षेत्रमा धन्यवाद दिन तथा बधाई लिन मतदाताको घरघरमा पुगिरहेका छन् ।

जनताले विकासको अपेक्षा गरेर आफूलाई जिताएको र सोही अपेक्षाअनुसार आफू जनाताकै हितका लागि मात्रै काम गर्ने खत्रीले बताए । जितपछिको मुख्य अजेन्ड आफ्नो क्षेत्रको समृद्धि नै रहेको उनको भनाइ छ । आफ्नो अजेन्डा क्रमागत रुपमा पूरा गर्ने भन्दै खत्रीले जंगल तथा जमिनको सदुपयोग, गाउँगाउँमा खानेपानी, विद्युत्, सरसफाई मुख्य प्राथमिकता रहेको बताए । ‘आफू निर्वाचित भएको यस क्षेत्रलाई कसरी विकास र समृद्धिको नमूना बनाउने भन्नेमा म स्पष्ट छु’, खत्रीले भने ‘ पूर्वाधार निर्माण नै मेरो पहिलो प्राथमिकतामा पर्छन् ।’ यसैगरी, बामगठबन्धनले तय गरेका साझा घोषणापत्र अनुरूप आफ्नो भूमिका निर्वाह गर्ने खत्रीको दाबी छ ।

निर्माण व्यवसायीका रुपमा लामो समयसम्म काम गरेका खत्रीको टेन्डरका फारम तथा सम्झौताहरु पूर्णरुपमा नेपाली भाषामै लेखिनुपर्ने माग रहेको छ । नेपाली टेन्डर फारम तथा सम्झौताहरु पनि अङ्ग्रेजीमा लेखिने भएकाले अधिकांश व्यवसायीहरुले नबुझेकाले समस्यामा पर्ने गरेको उनको भनाइ छ । नेपाली भाषामा लेखिए आम व्यवसायीलाई सहज हुने व्यवसायहरु कै धारणा रहेको र यसको लागि आफूले सक्दो पहल गर्ने खत्रीले बताए ।