२०७७ कार्तिक ११, मंगलवार

प्रदेशको शान्ती सुरक्षाका लागि ४० बुँदे कार्ययोजना

सुर्खेत, फाल्गुन ११ । प्रदेश ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको शान्ती सुरक्षाका लागि ४० बुँदे कार्ययोजना तयार पारेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री नरेश भण्डारीले बलियो सुरक्षा रणनिती अपनाईएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशको शान्ती सुरक्षाको लागि विभिन्न तीन कार्यदल गठन गरेको जानकारी दिए । मन्त्री भण्डारीले डीआईजी सुरेश विक्रम शाहको संयोजकत्वमा पाँच सदस्यीय समृद्धिका लागि शान्ती सुरक्षा समिती गठन गरिएको बताए ।  यस्तै, मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा ६ सदस्यीय डिजिटल प्रदेश निर्माण समिति गठन गरिएको पनि उनले जानकारी दिए ।

त्यसैगरी कानुन अधिकृत तुलसा गैरेको संयोजकत्वमा चार सदस्यीय कानुन मस्यौदा समिति पनि गठन गरिएको मन्त्री भण्डारीले जानकारी दिईन । गठित समितिहरुले बिहिवार देखि काम थालेको भन्दै उनले फागुन १९ गते औपचारिक रुपमा कार्यको उद्घाटन गर्ने बताईन । मन्त्री भण्डारीले मन्त्रालयमा बधाई दिन आउनेलाई पनि समृद्ध प्रदेशका लागि सुझाव समेत लिएर आउन आग्रह गरीन । अब प्रविधिलाई सुरक्षासँग जोड्ने भन्दै कहिँ कतै नचुकेर प्रदेशको सुरक्षाका लागि आफु लागि पर्ने बताए । मन्त्री भण्डारीले अब कसैको नक्कल गरेर नभई मौलिक कानुन बनाईने पनि प्रतिवद्धता जनाए ।

दश हजार बढी प्रहरी परिचालन गरिने ।

६ नम्बर प्रदेशमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै दश हजार बढी प्रहरी परिचालन गरिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले ५ हजार ४ सय थप प्रहरी प्रदेशभर परिचालन गर्न निर्देशन दिएको ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

बिहिवार बिहान मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एआईजी चन्दले हाल प्रदेशभर ५ हजार ९० प्रहरी कार्यरत रहेको जानकारी दिँदै गृह मन्त्रालयको निर्देशन अनुसार थप ५ हजार ४ सय प्रहरी परिचालन गरिने बताए । उनले क्रमिक रुपमा प्रहरीको संख्या थप पनि गर्ने प्रतिवद्धता जनाउँदै तत्काल १० हजार पाँच सय प्रहरी कार्यरत रहने बताए ।

यस्तै, दश वटै जिल्लाका सदरमुकाममा सीसीटीभी क्यामेरा जडान गरी प्रदेश प्रहरी कार्यालयले यस्को निगरानी गर्ने पनि एआईजी चन्दले बताए । उनले प्रदेशभर रहेका १ सय १६ वटा प्रहरी ईकाईहरुलाई प्रदेश प्रहरीको प्रत्यक्ष सम्पर्कमा रहनका लागि रिपीटर स्टेशन स्थापना गर्ने पनि जानकारी दिए ।
एआईजी चन्दले कर्णाली हाईवेमा निजी गाडी जुनसुकै समयमा पनि चल्ने दिईने भन्दै रुट प्रमिटका गाडीहरुलाई बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै संचालन हुन दिने बताए ।  यस्तै, कर्णाली राजमार्ग र लामो दुरीमा हुने सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्रत्येक गाडीमा जीपीएस ट्र्याकर राख्ने पनि उहाँले जानकारी दिए ।

अब रुट प्रमिटअनुसार गाडी संचालन गर्ने नियमलाई कडाईका साथ लागु गर्ने पनि एआईजी चन्दले बताए । तत्काल जाजरकोट, रुकुम र सल्यानमा रिपिटर स्टेशन स्थापना गर्ने भन्दै एआईजी चन्दले डोल्पा, मुगु, जुम्ला र हुम्लाका प्रहरी ईकाईहरुसँग पनि प्रत्यक्ष सम्पर्कमा रहनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै एआईजी चन्दले हरेक गाउँ, नगर र वडाका नागरिकहरुलाई सहभागी गराई सुरक्षा समिति पनि गठन गर्ने बताए । यस्तै, प्रदेशभित्रका पर्यटकिय स्थल भ्रमण गर्न आउने पर्यटकको सुरक्षाका लागि १५ दिनभित्रै पर्यटन प्रहरी पनि स्थापना गर्ने पनि बताए ।