२०७७ कार्तिक ५, बुधबार

कर्णाली प्रदेशमा दश हजार बढी प्रहरी परिचालन हुने, ‘अब प्रदेशमा पर्यटक प्रहरी’

सुर्खेत, फाल्गुन १६ ।  कर्णाली प्रदेशमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै दश हजार बढी प्रहरी परिचालन गरिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले ५ हजार ४ सय थप प्रहरी प्रदेशभर परिचालन गर्न निर्देशन दिएको ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

 एआईजी चन्दले हाल प्रदेशभर ५ हजार ९० प्रहरी कार्यरत रहेको जानकारी दिँदै गृह मन्त्रालयको निर्देशन अनुसार थप ५ हजार ४ सय प्रहरी परिचालन गरिने बताए । उनले क्रमिक रुपमा प्रहरीको संख्या थप पनि गर्ने प्रतिवद्धता जनाउँदै तत्काल १० हजार पाँच सय प्रहरी कार्यरत रहने बताए । यस्तै, दश वटै जिल्लाका सदरमुकाममा सीसीटीभी क्यामेरा जडान गरी प्रदेश प्रहरी कार्यालयले यस्को निगरानी गर्ने पनि एआईजी चन्दले बताए ।

उनले प्रदेशभर रहेका १ सय १६ वटा प्रहरी ईकाईहरुलाई प्रदेश प्रहरीको प्रत्यक्ष सम्पर्कमा रहनका लागि रिपीटर स्टेशन स्थापना गर्ने पनि जानकारी दिए । एआईजी चन्दले कर्णाली हाईवेमा निजी गाडी जुनसुकै समयमा पनि चल्ने दिईने भन्दै रुट प्रमिटका गाडीहरुलाई बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै संचालन हुन दिने बताए । यस्तै, कर्णाली राजमार्ग र लामो दुरीमा हुने सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्रत्येक गाडीमा जीपीएस ट्र्याकर राख्ने पनि उनले जानकारी दिए ।

अब रुट प्रमिटअनुसार गाडी संचालन गर्ने नियमलाई कडाईका साथ लागु गर्ने पनि एआईजी चन्दले बताए । तत्काल जाजरकोट, रुकुम र सल्यानमा रिपिटर स्टेशन स्थापना गर्ने भन्दै एआईजी चन्दले डोल्पा, मुगु, जुम्ला र हुम्लाका प्रहरी ईकाईहरुसँग पनि प्रत्यक्ष सम्पर्कमा रहनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै एआईजी चन्दले हरेक गाउँ, नगर र वडाका नागरिकहरुलाई सहभागी गराई सुरक्षा समिति पनि गठन गर्ने बताए । यस्तै, प्रदेशभित्रका पर्यटकिय स्थल भ्रमण गर्न आउने पर्यटकको सुरक्षाका लागि १५ दिनभित्रै पर्यटन प्रहरी पनि स्थापना गर्ने पनि बताए ।