२०७७ कार्तिक ४, मंगलवार

कर्णाली प्रदेशमा श्वेतपत्र जारी गर्ने तयारी

सुर्खेत, फागुन २१ – कर्णाली प्रदेशले श्वेतपत्र तयारका लागि आवश्यक तथ्यांकहरु मन्त्रालयबाट उपलब्ध गराउन मन्त्रालयहरुलाई अनुरोध गरेको छ । प्रदेशको अवस्था, व्यवस्था र सरकारले अगामी दिनमा गर्ने कामहरुको संक्षिप्त कार्ययोजनासहितको स्वेतपत्र तयार गर्दैछ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सबै मन्त्रालयलाई तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको छ ।

आइतबार राजधानी वीरेन्द्रनगरमा कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा प्रदेश सरकार, प्रदेशसभा सचिवालय, मन्त्रालयका सचिवहरु तथा आर्थिक प्रशासन प्रमुखको संयुक्त बैठकले गरेका निर्णयहरुका बारेमा जानकारी दिँदै स्वेतपत्र तयारका लागि गृहकार्य गरेको बताउनुभयो ।

‘प्रदेशको अहिलेको अवस्था, व्यवस्था र समगह कर्णाली क्षेत्रको विकासका लागि सरकारले गर्न खोजेका कामहरुकोे संक्षिप्त कार्ययोजनासहितको श्वेतपत्र छिटै जारी गछौँ’, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले तयारी गरिरहका छौँ ।’

यस्तै बैठकले प्रदेशको कार्यसञ्चालन नम्र्स र खर्च मितव्ययीता सम्बन्धी मापदण्ड तथा आचारसंहिता तयार गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजक्त्वमा ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उप–सचिव डिल्लीराज श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप–सचिव उपेन्द्रकेशर खनाल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक खिमबहादुर विष्ट, प्रदेश प्रमुख कार्यालयका लेखा अधिकृत मिनबहादुर ठाडा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लेखा अधिकृत पूर्णबहादुर बिसी सदस्य रहनुभएको छ भने सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत दमनध्वज क्षेत्री रहनुभएको छ ।

कार्यबहाक मुख्यमन्त्री ज्वालाले अबको तीनदिन भित्रमा मन्त्रीपरिषदको बैठकले केन्द्रको निर्देशनका आधारमा प्रदेशमा कानून नबन्दासम्म प्रदेशका पदाधिकारीहरुको पारिश्रमिक र सेवासुविधाको बारेमा अस्थायीय रुपमा निर्णय गर्ने जानकारी दिनुभयो ।
यस्तै, प्रदेशका कार्यालय र मन्त्रालयहरु व्यवस्थापनका लागि न्यूनतम आधारभूत आवश्यकताको लागि विवरण तयार गरी दुई दिन भित्र सबै मन्त्रालय र कार्यालयहरुलाई पठाउन अनुरोध गर्ने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको बजेट तयार गर्नका लागि सबै मन्त्रालयहरुले पहिले नीति तथा कार्यक्रम आवश्यक पर्ने भएकोले मन्त्रालयसँग आ–आफ्नो नीति तथा कार्यक्रमको संरक्षित विवरण पेश गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

मन्त्री ज्वालाले प्रदेशमा कानून निर्माणका लागि सबै मन्त्रालयलाई प्राथमिकताका आधारमा दुईवटा विधेक अनिवार्य रुपमा तयार गर्न पनि लगाइएको बताउनुभयो ।

कार्यबहाक मुख्यमन्त्री ज्वालाले सबै मन्त्रीहरुलाई बैठकले गरेका निर्णय र कामहरुका विषयमा जानकारी र मुख्यमन्त्री काठमाडौँबाट नआउन्जेलसम्म कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्नुभएको  छ ।