२०७७ कार्तिक ११, मंगलवार

वैदेशिक रोजगारीले निम्त्याएको मृत्यु र सपनाले गराएको विछोड

धर्मराज जि.सी. / कमल खत्री वैदेशिक रोजगारीमा जाने सिलसिलामा काठमाडौंमा थिए । कतारबाट छुट्टीमा आएका कमल छुट्टी सकिए पछि फेरी कतार उड्ने तरखरमा थिए । कमल संग सुन्दर सपना थियो । राम्रो भविष्यको कल्पनामा उनि वैदेशिक रोजगरीको एउटा पिडादायी यात्राका लागी घरबाट निस्केका थिए ।

केही समय दुःख गरेर अनि केही सम्पत्ति जोडेर गाँऊ घर तिर नै केही गर्ने योजना र सपनाका साथ कमल फेरी विदेशी भूमिमा पसिना बगाउन तयार भएका थिए ।  घरबाट परिवार, श्रीमती र छोरा छोरी सित बिदा भएर बिदेश उड्न काठमाडौं पुगे कमल । श्रीमती पद्माले विदेश नजान पटक पटक आग्रह गरिरहेकी थिईन । तर पनि कमलले केही बर्ष दुःख गरेर बाल बच्चाको उज्जवल भविष्यका लागि भनेर कतार जान हिडे ।

पद्माले काठमाडौं पुग्दा पनि पटक पटक फोन गरेर जे हुन्छ मिलेर सुख दुःख गरौंला , बारीमा जे उब्जनी हुन्छ त्यही खाउला भन्दै विदेश नजान अनुरोध गरीरहेकी थिईन् ।

भोली पल्टको कतारको टिकट थियो । कमल आफ्नो सबै तयारी गरीरहेका थिए । उनको मोवाईलको घण्टी बज्या,े गाँउ तिरको फोन थियो । फोन उठाए । फोन उठाए संगै उनी छाँगाबाट खसे जस्तै भए, अनुहार मलिन भो । हात खुट्टा गले । कमलका सबै सपना उडेर गए । कमललाई आफनै मुटुले काम गर्न छोडे जस्तो भान भयो । जिन्दगीमा सोच्दै नसोचेको घटना भएको कुरा फोनमा सुनिरहेका थिए ।

जसलाई घर बारी अनि दुई वटा मुटुका टुक्रा छोराको जिम्मा दिएर छोडेका थिए , उहि प्राण प्यारी जीवन संगिनी अब यस दुनियाबाट अर्कै दुनियामा गएको खबर थियो । अब यस दुनियामा कमलकी पद्मा रहिनन् ।

हो कमल की जीवन संगिनी पद्माले आफ्नो प्राण प्यारा आफुसंग नै नभएपछि बाच्नुको के अर्थ भन्दै डोरीको सहारामा आत्म त्याग गरीन, आत्महत्या गरीन् । कमल खत्री । सुर्खेतको चिङ्गाड गाँऊपालीका वडा नं. ३ साविकको मटेला गाविस वडा नं. ९ मा घर भएका कमल गाँउकै स्कुलमा कक्षा १० सम्म मात्र पढेका छन । पद्मा पनि सोही स्कुलमा कमल संगै पढने गर्दथिन । वडा एउटै भए पनि घर ४० ÷४५ मिनेटको फरकमा थियो । पढ्दा पढ्दै प्रेममा परेका कमल र पद्मा पढ्दा पढ्दै विवाह बन्धनमा बाँधिए ।

कमलका वुवा छैनन् ।आमा पनि पहिले देखी नै बोल्न र सुन्न सक्दीनन् । २ जना दाईहरु आ आफ्नै तरीकाले जीवन चलाई रहेका छन । दिदी बहिनीहरु सबैको बिहे भैसकेकोछ । कमलकी श्रीमती र एउटा ६ बर्षिया र अर्को २ बर्ष ६ महिनाको छोरा रहेका छन । अहिले आमाको मृत्यु पछि २ वटा नावालक छोराको बिचल्ली भएको छ । छोरा आमा भनेर रुँदा कमल पनि छोराहरु संगै रुन्छन् । एकदमै पिडादायी जिवन जिउन बाध्य छन् कमल । मर्नेहरु त मरेर जान्छन तर बाँच्नेलाई पो पिडा हुदोरहेछ । जो आज कमलले प्रत्यक्ष भोगीरहेका छन् ।

कमल जीवन चलाउन पहिले इण्डिया मुम्बई तिर जान्थे । जीवन सोचे जस्तो नभए पछि कमल केही कमाउने भन्दै कतार तिर गए । उतिबेला पनि पद्माले कमललाई विदेश नजान भनेकी थिईन तर बच्चा बच्चीको भविष्य बनाउने सुन्दर सपना बोकेर उतिबेला कमल कतार गए ।  कतारमा कमाई पनि औसत नै भयो । कमल र देवी एक अर्कालाई अति नै माया गर्ने गर्दथे । विदेश बाट आएर कमलले पद्माको नाममा सुर्खेत वीरेन्द्रनगर बजारमा एउटा घडेरी पनि पास गरे । कमललाई यत्तिमै चित्त बुझेको थिएन ।

उनले सुर्खेत बजारमा भोली छोरा छोरीलाई सजिलो होला भनेर एउटा घर बनाउने विचार गरे र जसका लागि उनी फेरी विदेश जानुको विकल्प पनि थिएन । उसो त कमल फेरी पनि विदेश जाने गरी छुट्टीमा आएका थिए । दुई माहिना घरमा बसेर फेरी कमाउन बिदेश जाने बेला आयो । आफ्नी श्रीमती र दुई छोरा लाई छोडेर जानु पर्ने भयो । घरपरिवार छोडेर जान त कसलाई पो मन लाग्थ्यो र ? तर पनि अरुको अगाडी केही गरेर देखाउने अभिलासा र राम्रो भविष्यका लागी विदेशीनु पर्ने बाध्यता थियो, कमललाई ।

कमललाई भन्दा बढी पिडा देवीलाई थियो । गाँऊ घरमा दुईवडा नावालक बच्चा संग घरपरिवार चलाउन कम्ती गाह्रो त थिएन । एक्लै मेलापात ,बस्तु भाऊ तथा घरबारी चलाउन सम्स्या नै हुने गर्दछ । त्यसैले पद्माले श्रीमानलाई विदेश नजान भनेकी थिईन । जे हुन्छ गाँऊ घरमा काम गरेर जीवन गुजारा गर्ने अनि संगै बस्ने भन्दै थिईन तर देवीको गुनासो कमलले गम्भिर रुपमा लिन सकेनन् ।

पद्मालाई एक्लै घरमा बस्नु पर्दा संगै मर्ने र संगै बाँच्ने कसम खाएको हैन की जस्तो लाग्यो । आफ्नै मान्छेले मेरो भनेको मानेन् भन्ने लाग्यो । उनी भावनामा बगिन् । देवीलाई दुईवटा छोराको चिन्ता भन्दा पनि श्रीमानले भनेको नमानेको कुराले पिरोल्यो । देवीलाई लाग्यो होला आफ्नो मायामा केही कमी भयो कि ? आफ्नो भनेको नमानेकाले विदेश उडनु भन्दा अघि नै आफ्नो माया देखाउन मन लाग्यो सायद । उनलाई मायाको अग्निपरिक्षा दिन मन लाग्यो ।

कापीको पानामा भावाना पोखीनः“मेरो हजुर ,यी दुई सन्तानको भविष्य हजुरको जिम्मामा छोडेर जादैछु ।तपाई लाई विदेशी भूमिमा नजानुहोस भनेको मान्नुभएन । म त तपाई संग हासी खुसी जिवन विताउने, दुःख सुंःख जे हुन्छ संगै विताउने मन थियो । तर तपाई पैसा कमाउन विदेशी भूमीमा गए पछि म एक्लै बाँच्न सक्दिन । मैले केही गल्ति गरेर पनि हैन ,तपाईलाई कुनै दोष दिएर पनि हैन् । हजुर बिना म बाच्न नसक्ने भए । छोराको भविष्य हजुरकै हातमा छ । जीवनको अन्तिम क्षण सम्म साथ दिन सकिन मलाई माफ गरीदिनु होला ।”

“हजुले त यीनीहरुलाई खुसी दिलाउनु छ ।
दुःख अनि धेरै संघर्ष गरेर,च्यातिएमा लुगा अनि भोटो सिलाउनु छ ।
यादहरु आउलान विगतमा भएका,मन भित्र थुपारी पोको सिलाउनु छ ।
नांगै भोकै हिडे भने कतै ,जे गरेर हुन्छ इज्जत टिकाउनु छ ।
छोडेर गए म, हजुरकै हातमा, जसरी हुन्छ हजुर,परिवार मिलाउनु छ ।
हजुरले त यीनीहरुको खुसी दिलाउनु छ ।”

बेलुकीको खाना छोराहरुलाई खुवाएर आफुले पनि खाईन । अनि २ वटा छोरालाई आफू संगै राखेर घरको ढोका बन्द गरेर आफ्नो मायाको अग्निपरिक्षा दिईन् । छोरा मस्त निद्रामा थिए । पद्माले झुण्डीएर आत्महत्या गरीन् । बिहान भयो छोराहरुले आमा भनेर धेरै पटक बोलाए ,आमा बोलिनन् । नजिकैका छिमेकी आएर ढोका फोडेर हेर्दा पद्माले संसार छोडीसकेकी थिईन् । उनी मायाको अग्निपरिक्षामा त खरो उत्रिन तर २ वटा नाबालक छोराले आमाको ममता अब कहिल्यै नपाउने गरी सधैको लागि गुमाए ।

“कमलले त्यही राती पटक पटक फोन गरे, फोन उठेन । राती सपना पनि नराम्रो देखे । कुनै अचम्म लाग्दो मान्छे जस्तो देखीने चिजले घाँटी समातेको जस्तो भयो । मलाई लाग्छ उनले उतिबेला नै संसार छोडिन होला ।”कमलले अड्कल गरे । “बिहान ५ बजे फोन गरे फेरी पनि फोन उठेन । अनि एकैचोटी उनले मलाई सधैका लागी छोडेको खबर पाए ।” कमलले भने ।

कमलले सोचेका थिए । अहिले जे भने पनि, जे बोले पनि पछि बिस्तारै सबै ठिक हुन्छ । कमलले पद्माको कुरालाई गम्भिर रुपमा लिएनन् । लिउन पनि कसरी आखिर आफ्नै मान्छे न हुुन, संगै मर्ने संगै बाँच्ने कसम खाएको मान्छे कति टाढा जाला र ? भन्ने सोचे कमलले । कमलले भने “केही वर्ष त हो दुःख गर्ने , पैसा कमाए पछि संगै रमाउला ,संगै बसौंला भनेर भनेको थिँए, मैले त्यती गम्भिर रुपमा लिईन, पछि सबै ठिक हुन्छ भन्ने सोचे तर के गर्नु मेरो त्यो सोचाई गलत रहेछ । छोराले आमालाई खोज्छ ,मलाई सोध्छ , मैले कसरी के जवाफ दिऊ, म आफै समालिन सकिरहेको छैन।

यसतो हुन्छ भन्ने कुरा थाहा भएको भए म विदेश किन जान्थे र ? म त हामी सबैको खुसीको लागी दुःख गर्न लागेको हुँ । ” यो जमाना नै पैसाको पछि भागिरहेको बेला कमल पनि त्यसबाट अछुतो हुन सकेनन् । पद्माले पनि नेपाली समाजको बाध्यतालाई आत्मसाथ गर्न सकिनन् र सहि निर्णय लिन सकिनन् । जसको सजाय अबोध दुई वटा बालकले भोगीरहेका छन । उनीहरुको बिचल्ली परेको छ ।

यस्तो प्रकारको पिडा आज एउटा कमल र उनको परिवारले मात्र भोगीरहेका छैनन् । आज हजारौ कमलहरु वैदेशिक रोजगारीका कारण पिडित भएका छन् । वैदेशिक रोजगारी नेपाली समाजमा आम विषय भैसकेको छ । कतिपय विदेशमै पढेर राम्रो कमाई गर्ने , जीवन स्तर अझै माथी उठाउने भन्दै त कतिपय कतिपय विलासिताका लागी पनि विदेश पलायन भईरहेका छन् ।

उनीहरु राम्रा र बढी विकसिति र काम गर्न सहज मुलुकमा गईरहेका छन भने त्यो भन्दा धेरै युवा जनशक्ति आफ्नो दैनिकी चलाउन रोजी रोटीका लागि वैदेशिक रोजगारीमा भौतिक र आर्थिक रुपमा असुरक्षीत खाडी देशहरुमा जान बाध्य भईरहेका छन । जहाँ मर्ने बाँच्ने कुराको ग्यारेण्टी नै छैन । न त राम्रो कमाई नै हुन्छ ,न खाडीमा कमाएको पैसाले जीवनमा कुनै कायापलट नै हुन्छ ।

देशमा रोजगारीको सिर्जना हुन नसक्दा लार्खौ नेपाली युवाहरु विदेशिन बाध्य भईरहेकाछन् । दैनिक आधा दर्जनका हिसाबले विदेशबाट युवाहरु बाकसमा एयरपोर्टमा झर्ने गर्दछन् । बैदेसिक रोजगारीका कारण कतिको घरबार विग्रीएका छन त कतिका सिउदो पुछिएका छन् भने कति बाल बच्चा टुहुरो भएकाछन्, बिचल्ली परेका छन् ।

नेपाली समाजमा बैदेशिक रोजगारीले यति पिडा दिएको छ की जो कुनै युद्ध भन्दा कम छैन । जसको शिकार कमल र उनका दुई छोरा पनि भएका छन् । राज्यले स्वदेशमै रोजगारीको सृजना कहिले गर्ला र हजारौं कमलहरुले कहिले न्याय पाउलान् ? निति निर्माता सरोकारवाला अनि राज्यको ध्यान कहिले यतातिर जाला ।