२०७७ कार्तिक १५, शनिबार

प्रदेशसभा नियमावली २०७४ को मस्यौदा सभामुखलाई बुझाइयो

सुर्खेत, फागुन २४ – कर्णाली प्रदेशको प्रदेशसभाद्वारा गठित कर्णाली प्रदेशसभा नियमावली २०७४ को मस्यौदा समितिको प्रतिवेदन मस्यौदा समितिले सभामुखलाई बुझाएको छ ।

मस्यौदा समितिले चार वटा समितिसहितको नियमावली प्रतिवेदन मस्यौदा बुधबार सभामुखलाई बुझाएको हो  । मस्यौदा समितिका संयोजक सिता नेपालीले बुधबार सभामुख राजबहादुर शाहीलाई मस्यौदा बुझाउनु भएको हो ।

समितिले प्रदेशसभामा विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोतसाधन समिति र सामाजिक विकास समितिसहित विषयगत समिति बनाएको छ ।  प्रदेश सांसद सिता नेपालीको संयोजकत्वमा आठ सदस्यीय मस्यौदा समितिले सभामुखलाई प्रतिवेदन बुझाएको हो ।

निमावली प्रतिवेदनमा २ सय २२ वटा नियम ८ वटा अनुसूची २५ वटा परिच्छेद रहेका छन् । मस्यौदा समितिका संयोजक नेपालीले संविधानले प्रदेशसभालाई दिएको अधिकारसहित विज्ञहरुसँग राय सुझाव लिएर मस्यौदा तयार गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभा सञ्चालन र कामकार्वाही चुस्तदुरुस्त गर्नका लागि नियमवालिको आवश्यकतालाई पूरा गरेको जानकारी दिनुभयो । बैठक सञ्चालन र व्यवस्थित गर्न प्रदेशको अनुकलतामा ५० प्रतिशत सदस्यको सहभागितामा प्रदेशसभाको बैठक र समितिका बैठक बस्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिवेदनमा विधायनहरुको प्रभावकारीताको लागि प्रि–बजेटको छलफल, सरकारले गरेका कामहरुको अनुगमन लगायतका विषयलाई पनि राखिएको छ ।
प्रदेशसभामा नियमावली बुझाएसँगै प्रदेशसभालाई काम कार्वाहीका लागि बाटो खुल्ला खुलेको छ ।

विजनेस नहुँदा प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ । आवश्यकतालाई मध्यनजर गर्दै मस्यौदा तयार गरेको उहाँले बताउनुभयो।