२०७७ कार्तिक ११, मंगलवार

विस्थापित शिविरमा मन्त्री भण्डारिकाे एक रात

नगेन्द्र उपाध्याय/ सुर्खेत – एकतर्फी त्रिपालले ढाकेको सानो छाप्रो। छाप्रो अड्याउनका लागि बीचमा गाडिएको काठको खम्बा नजिकै खाना पकाउने चुल्हो। मुस्किलले चार जनासम्म अट्ने सो छाप्रोमा पुष्पा नेपालीको आठ जनाको परिवार बस्छ। २०७१ साउन २९ गते राति भेरीमा आएको बाढीले तातापानीका एक सय १० जना परिवार विस्थापित भए। २९ जनाले ज्यान गुमाए। विस्थापित भएयता उनको परिवार नजिकैको जंगल छेउको गल्फामा बस्न थाल्यो। श्रीमान मजदूरी गरेर कमाउँथे। त्यही कमाईले छाप्रोमै सही उनीहरुको गुजारा चलिरहेको थियो।

२०७२ चैतमा कुलो खन्ने क्रममा श्रीमान मन नेपालीको पनि मृत्यु भयो। ३० वर्षकी पुष्पालाई सात छोराछोरीको पालनपोषणको जिम्मेवारी आइलाग्यो। अहिले उनी भेरी किनारमा गिट्टी कुट्छिन्। त्यहीको आम्दानीले छाप्रोमा चुल्हो बल्ने गरेको छ। बिहीबार राति कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी पुष्पाको छाप्रोमा बास बस्न पुगे। मन्त्री घरमा आउँदैछन् भन्ने जानकारी उनलाई थिएन्।

‘खाना पकाउँदै थिएँ, विस्थापित शिविरका अगुवा आएर दुई जनालाई पनि थप्नु भन्नुभयो’ पुष्पाले भनिन्, ‘खाना खुवाउनेबेला मात्रै मन्त्री हुन् भन्ने थाहा पाएँ।’ उनले मन्त्री भण्डारीलाई मकैको रोटी, बाँको र सिस्नोको तरकारी दिइन्। मन्त्रीसहितको टोली त्यहीँ छाप्रोमा सुत्यो। उनी आफ्ना छोराछोरीसहित छिमेकीकोमा गइन्।

‘सुत्दा आकाशका तारा देखिन्थे, यस्तोले पानी र घाम कहाँ छेकिन्छ होला!’ विहानीपख मन्त्री भण्डारीले संवाददातालाई भने, ‘अल्पकालिन र दीर्घकालिन योजनासहित बाढीपीडितहरुको समस्या समाधान गर्नेतर्फ लाग्छु।’ उनले बाढीपीडितहरुको पीडा र दुःख बुझन् आफू तातापानी आएको बताए। ‘चार वर्षअघि सरकार र विभिन्न संघ–संस्थाले दिएका एकसरो पालहरु च्यातिएका छन्, ओढ्न र ओछ्याउनका लागि पनि बाढीपीडितहरुसँग कपडा छैनन्’, मन्त्री भण्डारीले भने, ‘समस्या राम्रोसँग बुझ्ने मौका पाएँ, अब अल्पकालिन र दीर्घकालिन योजना बनाएर समस्याको समाधानमा लाग्छु।’

बाढीपहिरोमा परेर सुर्खेतमा २४ जनाले ज्यान गुमाएका थिए। बेपत्ता भएका ९१ जनालाई पनि राज्यले मृत घोषणा ग-यो। जिल्लाका विभिन्न आठ वटा अस्थायी शिविरमा एक हजारबढी बाढीपहिरो पीडितहरु अहिले पनि कष्टकर जीवन विताइरहेका छन्।

प्रदेश सरकारका प्रभावशाली मन्त्री नै शिविरमा बास बसेर फर्केपछि पुष्पालाई आफूहरुले भोग्दै आएका समस्या चाँडै समाधान हुने लागेको छ। ‘अहिलेसम्म ठूला नेताहरु आएका थिएनन्, मन्त्री टहरोमा बास बसेर जानु भयो’ उनले भनिन्, ‘मजस्ता पीडामा रहेकाहरुको समस्या समाधान हुने अपेक्षा गरेका छौं।’

कैलाली नजिकको तातापानी पुग्न भेरीमा नाउ (काठको डुङ्गा) चढ्नुपर्छ। सदरमुकाम वीरेन्द्रनगरदेखि पाँच घण्टा टाढाको ठाउँ भएकाले सित्तिमित्ति यहाँ कोही पुग्दैन्। प्रदेश सरकारका मन्त्री नै शिविरमा बास बसेर फर्केपछि विस्थापितहरुमा नयाँ आशा पलाएको छ। ‘अहिलेसम्म हामी समस्या सुनाउन नेता र मन्त्री कहाँ धाउने गरेका थियौं, पहिलो पटक मन्त्री नै हाम्रो बस्तीमा आउनु भयो’ बाढीपीडित शिविरका अगुवा छविलाल पौडेलले भने, ‘अव त समस्या समाधान होला भन्ने आशामा छौं।’ बाढीपीडितले स्थायी बसोबास र रोजगारीको माग गरेका छन्।

महिनाको एक रात जनतासँग

पञ्चपुरी–१० गल्फा शिविर विस्थापित शिविरमा पुष्पा नेपालीको घरमा खाना खाँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी महिनाको एक दिन जनतासँग बास बस्ने भएका छन्। उनले प्रदेशभित्रका ग्रामिण क्षेत्रका जनताका समस्या बुझ्न र समाधान गर्नका लागि ‘जनतासँग एक रात’ कार्यक्रम ल्याइएको बताए। ‘५२ प्रतिशत गरिबी रहेको प्रदेशका जनताका धेरै समस्या छन्, ति समस्या बुझ्न उहाँहरुसँगै बस्न जरुरी छ’, उनले भने, ‘अबदेखि हरेक महिनाको एक दिन जनताको घरमा बास बस्छु।’ मन्त्री भण्डारीले त्यसको सुरुवात पश्चिम सुर्खेतको पञ्चपुरी–१० मा रहेको गल्फा बाढीपीडित शिविरबाट गरे।

‘सीमान्तकृत, दलित, जनजाति, पिछडिएको क्षेत्रका जनताका समस्या पहिचान गर्न र त्यसको समाधान गर्नका लागि महिनामा एक रात जनतासँग विताउने छु’, उनले भने, ‘यसो गर्दा समस्याको पहिचान हुनुका साथै समाधानको योजना पनि बन्छ।’ नागरिक दैनिकबाट साभार