२०७७ कार्तिक ९, आईतवार

आंगिक क्याम्पसलाई ३० लाख हस्तान्तरण

सुर्खेत –  १० वटा आंगिक क्याम्पसको प्रक्रियामा रहेका सामुदायिक क्याम्पसहरूलाई विश्वविद्यालय अनुदान आयोगले पुर्बधार विकासका लागि ८० लाख रकम प्रदान गर्ने भएको छ । त्यो मध्ये पहिलो किस्ता वापत ३० लाख एक कार्यक्रमका बीच सम्बन्धित क्याम्पस प्रमुखहरूलाई हस्तान्तरण गरेको छ । आईतबार विश्वविद्यालयले प्रत्येक क्याम्पसका क्याम्पस प्रमुखहरूलाई चेक हस्तान्तरण गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले आंगिकको प्रक्रियामा रहेका क्याम्पसहरूको चलअचल सम्पति विश्वविद्यालयको नाममा हस्तान्तरण गर्ने प्रक्रिया अगाडी बढाउन निर्देशन दिए । त्यस्तै रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयमार्फत उच्च शिक्षाको समानुपातिक दायित्व यस क्षेत्रमा पुरयाउन आंगिक क्याम्पस बनाउने प्रक्रिया अगाडी वढेको बताए ।

यस अघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सभाबाट नारायण क्याम्पस दैलेख, बबई बहुमुखी क्याम्पस बर्दिया, बागेश्वरी बहुमुखी बहुमुखी क्याम्पस कोहलपुर, बाँके, रारा क्याम्पस मुगु, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, मुसिकोट क्याम्पस खलङ्गा, रुकुम, जनता बहुमुखी क्याम्पस, बिध्यापुर, सुर्खेत र भेरी शिक्षा क्याम्पस गुमी, सुर्खेत त्यस्तै तिला बहुमुखी क्याम्पस मान्मा कालिकोट, जलजला बहुमुखी क्याम्पस, रोल्पालाई आंगीक बनाउने निर्णय भएको थियो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रुपमा रहेका उक्त क्याम्पसहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसको रूपमा हस्तान्तरण गर्ने सम्बन्धमा प्रक्रिया अगाडी बढाउने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनिया र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला विच समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।