२०७७ कार्तिक ११, मंगलवार

चौकुनेको कार्यालय वीरेन्द्रनगरमा तत्काल कार्यालय हटाउन एमालेको चेतावनी

सुर्खेत ५ चैत्र ।  संघियता लागु भए संगै गाँउ गाँउम सिंहदरबार भनिए पनि सुर्खेतको चौकुने गाउँपालिकाले सम्पर्क कार्यालय जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा खोलेको छ । जसको स्थानीय बासीले चर्को आलोचना गरेका छन् । जिल्लाको सुदूरपश्चिममा रहेको गाउँपालिकाको कार्यालय कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा स्थापना गरिएको भन्दै स्थानीयवासीले आलोचना गरेका हुन् ।

स्थानीयवासीको गुनासो बढेपछि एमाले चौकुने गाउँपालिका कमिटीले प्रदेश राजधानी वीरेन्द्रनगरमा स्थापना गरिएको सम्पर्क कार्यालय तत्काल बन्द गर्न माग गरेको छ ।
बैठकबाट अविलम्ब कार्यालय बन्द गर्न चौकुने कार्यपालिकाको कार्यालयलाई जानकारी गर्ने निर्णय गरेको चौकुने गाउँ संगठन कमिटीका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए । चौकुनेको अस्थायी केन्द्र गुटुमा रहेको र अभिलम्ब उपयुक्त र पायक पर्ने स्थानमा स्थायी केन्द्र तोक्न कार्यपालिकालाई सुझाव दिने निर्णय समेत गरिएको संयोजक अधिकारीले बताए ।

चौकुने गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष एमाले तर्फबाट निर्वाचित भएका हुन् । यसै बिच चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले गाउँपालिकामा बैंक र विद्युतको सुबिधा नहुँदा पालिकाको काम कार्वाही सहज रुपमा गर्नका लागी सम्पर्क कार्यालय वीरेन्द्रनगरमा खोलिएको बताईन । गाउँपालिकाका करिब ६ सय योजना भएकाले बैंकिङ्क सेवाका साथै प्रिन्ट र फोटोकपी गर्नका लागि मन नहँुदानहँुदै बाध्यतावस सामान्य रुपमा सम्पर्क कार्यालय खोलिएको रानाको भनाई छ ।

रानाले आउँदो बैशाख देखी सम्पर्क कार्यालय सुर्खेत बजारमा नरहने समेत बताईन । लक्ष्मी बैंकले चौकुनेमा शाखा बिस्तार गर्ने भने पनि बिद्युत र पक्की घर नभएकाले बैक नगएको रानाको भनाई छ । बैशाख देखी बैंक पनि गाँउपालिकामा जाने भएकाले बजारमा सम्पर्क कार्यालयको कुनै आवश्यक्ता नहुने उहाले बताउनुभयो ।