२०७७ कार्तिक ११, मंगलवार

नक्कली परिक्षार्थी राखेपछि सुर्खेतका वडा अध्यक्ष जाजरकोटमा पक्राउ

सुर्खेत, चैत । जाजरकोटमा एसईई परीक्षामा सट्टा परीक्षार्थी राख्ने सुर्खेत चिंगाड गाउपालीकाका वडा अध्यक्ष पक्राउ परेका छन् । शिवालय गाउँपालिकाको बीरेन्द्र उच्च मावि परीक्षा केन्द्र जुंगाथापाचौरमा एसईई परीक्षामा सहभागी सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष अमर बहादुर चन्द पक्राउ परेका हुन् ।

उनलाई सट्टामा परीक्षार्थी राखेको दिनको परीक्षा रद्ध गरि सर्वपक्षीय छलफलपछि प्रहरी नियन्त्रणबाट छोडिएको छ । सोमबार गणित विषयको परीक्षामा आफ्नै गाउँपालिकाका कर्मचारी क्षेत्रबहादुर चन्दलाई नक्कली परीक्षार्थी खडा गरेका थिए । वडाध्यक्ष चन्दलाइ सोमबार गणित विषयको परीक्षा रद्ध गरिएको भएपनि मंगलबार विज्ञान विषयको परीक्षामा भने सहभागी गराइएको छ ।

गएको स्थानीय निर्वाचमा काँगे्रसको तर्फबाट वडा अध्यक्ष जितेका चन्दले परीक्षा खुकुलो हुने आशले जाजरकोटको बीरेन्द्र उच्च माविबाट फारम भरेका थिए । सम्बन्धित विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सोमबारको परीक्षा रद्ध गरेर बाँकी परीक्षामा सहभागी गराएको केन्द्राध्यक्ष शत्रुघन चौधरीले जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले केन्द्राध्यक्षले गर्ने कारवाही त्यति मात्रै भएकोले औपचारिक जानकारी आएपछि जिल्ला शिक्षाले प्रशासनिक कारवाही गर्ने बताए ।