२०७७ माघ ९, शुक्रबार

नेपाल–भारत द्धिपक्षीय तीन तहको उच्च भ्रमण छिट्टै हुन्छ ः राजदुत राय

ranjit rae with leadersकाठमाडौं, १ भदौ । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले छिट्टै नेपाल–भारतवीच द्धिपक्षीय उच्च तहको भ्रमण हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रायले छिट्टै दुई देशका उच्च तहको भ्रमण हुने बताएका हुन् । उनले भने,‘द्धिपक्षीय उच्च भ्रमण तय गर्नको लागि पनि नेपालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि भोलि दिल्ली जाँदैहुनुहुन्छ ।’

उनले मन्त्री निधिको भारत भ्रमणले नै भारतको राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्नेमा केन्द्रित रहने स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा राजदुत रायले द्धिपक्षीय उच्च भ्रमण हुन आवश्यक रहेको उल्लेख गर्दै भने,‘नेपाल–भारतवीच द्धिपक्षीय उच्च भ्रमण हुन जरुरी छ, यस्ता किसिमको भ्रमण र अन्र्तक्रियाले आपसी सम्बन्ध सुमधुर बनाउँछ ।’ यद्धपी राजदुतले भ्रमणको मिति भने अहिले नै तय नभएपनि आफहरु भ्रमण मिति तय गर्नको लागि गृहकार्यमा जुटेको स्पष्ट पारे ।

भारत नेपालमा स्थायित्व, शान्ति र विकास भएको हेर्न चाहन्छ भन्दै राजदुत रायले थपे,‘हामी नेपालमा विकास भएको हेर्न चाहन्छौं, त्यसको लागि भारत सँधै नेपाललाई सहयोग गर्न तयार छ ।’ भारतको राष्ट्रिय स्वार्थ आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले थपे,‘हामी अहिले आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं,

अब हामी दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यमा छौं, तर यसको लागि छिमेकी मुलुकमा स्थायित्व हुनुपर्छ, विकास हुनुपर्छ, यो भारतको चाहना हो ।’  भारतले एक्लै उक्त लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले भने छिमेकमा शान्ति र स्थिरता हुनुपर्छ भन्ने भावानाका साथ नै भारतले छिमेकी पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले थपे,‘छिमेकमा अस्थिरता भयो भने भारतमा पनि अस्थिरता हुन्छ, भारतमा अस्थिरतमा भयो भने छिमेकी मुलुकमा पनि अस्थिरता हुन्छ, त्यसैले यो एक अर्को देशको लागि म्युच्युल ईन्ट्रेष्ट हो ।’

कहिलेकाहीँ भारतले नेपालमा अस्थिरता चाह्यो भन्ने आरोप लगाउने गरेको आफूले सुनेको भन्दै राजदुत रायले खण्डन गरे,‘यो त स्वयम् भारतको हितको विपरितमा छ, किनकी नेपालमा अस्थिरता भयो भने भारतको विकासमा पनि असर पर्छ नि, त्यसैले भारतले कहिलेपनि त्यस्तो अस्थिरता चाहँदैन् ।’

उनले भारतको नेपालसँग त अझै युनिक सम्बन्ध रहेको उल्लेख गर्दै थपे,‘नेपाल–भारतवीच खुल्ला सिमाना छ, जनता जनतावीच प्रगाढ सम्बन्ध छ, कुनै नदी नेपालबाट बगेपनि गंगामा मिसिन्छ, त्यसैले मलाई लाग्छ कि एक देश अर्को देशमा यस्तो अस्थिरता चाहन्छ भन्ने भावना कसैको मनमा पनि आउनै हुँदैन् ।’

ranjit raeयद्धपी उनले सम्बन्धमा फरक हुने धारणा राखे ।
नेपाल–भारत सम्बन्धमा धेरै उतारचढाव र चूनौति आएको कुरा स्विकार्दै राजदुत रायले भने,‘चूनौतिले सम्बन्धलाई अझै मजबुत बनाउँछ, बलियो बनाउँछ, वर्तमान सम्बन्धमा केही मतमतान्तर देखियो भन्दै यसले दिर्घकालिन असर पर्छ भनेर कसैले पनि सोच्नुहँदैन् ।’

आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई राजनीतिक भन्दापनि आर्थिक साझेदारीको रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो । उनले थपे,‘राजनीतिक विषय एउटा कुरा हो, आर्थिक साझेदारी अर्को विषय हो, त्यसैले आर्थिक साझेदारीको कुरा गर्दा राजनीतिक कुरा जोड्नु हुँदैन् ।’ आर्थिक साझेदारीका आयोजनाहरुलाई अघि बढाउनको लागि पनि मिडियाको सकारात्मक भूमिकाको आवश्यकत्ता रहेको राजदुत रायले बताए ।

नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने स्पष्ट परेका छन् । खड्काले भने,‘नेपाल र भारतवीच अत्यन्तै मैत्रिपुर्ण र ऐतिहासिक छ, यो सम्बन्ध अहिलेदेखि होईन, प्राचिनकालदेखि नै घनिष्ठ छ ।’
खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा छिमेकीलाई भारतले पहिलो प्राथमिकतामा राखेको र छिमेकी मुलुकको गरिवी अन्त्य गर्नै भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गर्नु अत्यन्तै सकारात्मक रहेको टिप्पणी समेत गरे । खड्काले भने,‘मोदीजीको अभिव्यक्तिले पनि आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुन्छ, मजबदुत हुन्छ ।’

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप वा दख्खल पुर्यायो भन्ने चर्चा यदाकदा भएपनि यसमा कुनै सत्यता नभएको खड्काले दाबी गरे । उनले थपे,‘भारतको स्वार्थ वा चासो नेपालको आन्तरिक मामिला हुन्छ जस्तो मलाई लाग्दैन्, भारतजस्तो परिपक्व विश्वमै आर्थिक विकास हाँसिल गरेको देशले नेपालको आन्तरिक वा सानो तिनो कुरामा हस्तक्षेप गर्छ जस्तो मलाई लाग्दैन् ।’

यद्धपी खड्काले नेपालको राजनीतिक परिवर्तनबारे भारतले चासो राख्नु अत्यन्तै स्वभाविक रहेको टिप्पणी गरे । उनले थपे,‘नेपाल–भारतवीच खुल्ला सिमाना छ, त्यसैले भारतले नेपालको राजनीतिक परिवर्तनबारेमा चासो राख्नु त्यति नौलो कुरा होईन् ।’ आपसी असमझदारी हटाएर द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउनु नै आजको आवश्यकत्ता भएको भन्दै सोही अनुरुप नेपाल र भारत अघि बढ्नुपर्ने नेता खड्काको भनाई थियो ।

भारतले भनेबमोजिम उसले नेपालको शान्ति, स्थायित्व र समृद्धिको लागि गर्ने सकारात्मक प्रयासमा नेपालले पनि सहयोग गर्नुपर्ने खड्काले बताए । अहिले एकले अर्को देशको विरुद्ध कार्ड प्रयोग गर्ने खासगरी चाईनाविरुद्ध भारतको कार्ड अथवा भारतविरुद्ध चाईनाको कार्ड प्रयोग हुने हल्लाबारे टिप्पणी गर्दै भने,‘हामीले नेपालको कार्ड प्रयोग गर्ने हो, कुनै एउटा देशको विरुद्धमा अर्को देश प्रयोग गर्ने होईन् ।’

खड्काले नेपालले भारत र चीनवीचको आर्थिक विकासबाट फाईदा लिनुपर्नेगरि अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालको प्राकृतिक स्रोत र साधनको उपयोग नेपालकै राष्ट्रिय हितमा हुनेगरि अघि बढाउनुपर्ने बताए । बदलिँदो अन्र्तराष्ट्रिय सम्बन्धको परिवेश अनुसार नै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अघि बढाउनुपर्नेमा नेता खड्काले जोड दिए ।
नेकपा एमालेका नेता डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै अब हुने द्धिपक्षीय उच्च तहको भ्रमण दुईदेशको हितमा हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिए ।

भट्टँराईले नेपाल र भारतवीच जतिसुकै असमझदारी भएपनि ऐतिहासिक सम्बन्ध भएको कारण ती असमझदारी गौण हुने धारणा राख्दै भने,‘विगतमा पनि कतिपय विषयमा असमझदारी भएकै हुन्, तर वार्ताको माध्यमबाट ती असमझदारीहरु हटाईएको थियो, अहिले भारतको आर्थिक विकासबाट नेपालले पनि लाभ लिनुपर्छ, भारत अहिले आर्थिका विकासको एजेण्डामा अघि बढिरहेको छ ।’

नेपालमा जुनसुकै राजनीतिक दल सरकारमा आएपनि छिमेकी मुलुक समृद्धिको बाटोमा अघि बढिरहेको वेला नेपालले पनि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनेगरि अघि बढ्नुपर्ने भट्टराईको भनाई थियो । उनले नेपाल र भारतवीच भएका द्धिपक्षीय सन्धीसम्झौताहरु पूनरावोलकन गरेर समयानुकुल बनाउनुपर्नेमा जोड दिए । उनले सम्बन्ध समुधुर बनाउनको लागि पनि द्धिपक्षीय राजनीतिक उच्च भ्रमण नियमति हुनुपर्ने बताए ।

भारतको आर्थिक विकास, र यसका परिसूचकहरुलाई नेपालको हितमा वा कसरी फाईदा लिन सकिन्छ भनेर नेपालले पनि सोच्नुपर्ने उनको धारणा थियो । उनले भने,‘यसकोबारेमा हामीले घनिभुत छलफल गर्छौं ।’

नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले नेपाल र भारतवीच सदियौंदेखिको सम्बन्ध भएको उल्लेख गर्दै बदलिँदो परिवेश अनुसार अब अघि बढ्नुपर्नेमा जोड दिए । साहले भने,‘भारतले नेपाललाई सानो देख्ने अनि नेपालले भारतलाई ठूलो देख्ने भन्ने जुन भावना छ, त्यसरी सोच्नुहुँदैन् ।’ उनले भारतको आर्थिक समृद्धिबाट नेपाललेपनि लाभ लिनुपर्ने धारणा राखे ।

साहले नेपाल र भारतवीच भएका सन्धी र सम्झौताबाट प्रतिफल नआए त्यसलाई रिभ्यु गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘यदि सन्धिसम्झौताबाट कुनै लाभ भएन वा प्रतिफल आएन भने त्यसलाई रिभ्यु गर्नुपर्छ ।’ उनले नेपाल–भारतवीच सम्पन्न भएका कतिपय ठूला परियोजनाहरु द्धद चरित्र बोकेको समेत गुनासो पोखे ।

भारतको आर्थिक विकाससँगै नेपालले समेत यसबाट आर्थिक विकासको गतिमा दु्रतता पाउने साहको विश्वास थियो ।
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतलाई नेपालले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । नेता देवले भने,‘हिजो पञ्चायतकाल, प्रजातान्त्रिक काल र आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत उही नीति कसरी हुन्छ, त्यसैले अहिले हामीले दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ ।’

नेपालको भारतसँगको विदेश नीति डोमिनेटेड रहेको भन्दै अब नयाँ ढंगले सुत्रीकरण गरेर अघि बढ्नुपर्नेमा नेता देवको जोड थियो । उनले नेपाल र भारतवीच समदुरीको नीति हुनै नसक्ने भन्दै अब वस्तुनिष्ठको नीति अनुसार अघि बढाउनुपर्ने बताए ।
नेपालले भारत र चीन दुवैसँग उतिकै प्रगाढ सम्बन्ध कायम गर्नुपर्नेमा उनको जोड थियो । उनले अघि थपे,‘दुवै छिमेकीहरुसँग नेपालले राम्रो सम्बन्ध राख्नुपर्छ, दुवै देशको आर्थिक विकासबाट फाईदा लिनुपर्छ ।’