२०७७ कार्तिक ६, बिहीबार

समाता स्कुल अनुमति विनै विद्यार्थी भर्णा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित समता स्कुलको ‘दादागिरी’ छताछुल्ल भएको छ । देशका केहि जिल्लामा सस्तो शुल्कमा विद्यार्थी अध्ययन गराएर चर्चा कमाएको उक्त विद्यालयले स्थानीय तह (नगरपालिका)को स्वीकृति विनै भर्ना लिइरहेको खुलेको हो । बारम्बार नगर शिक्षा शाखाले भर्ना नलिन विद्यालय सञ्चालकलाई ताकेता गरे पनि सञ्चालकले भने केन्द्रबाटै भए पनि अनुमति ल्याउने तर भर्ना अभियान भने नरोक्ने जवाफ दिएको नगर शिक्षा शाखाका प्रमुख गजेन्द्र जिसीले बताए ।

चालू शैक्षिक सत्रदेखि समताले सुर्खेतमा नर्सरीदेखि एक कक्षासम्म भर्ना शुरु गरेको छ । समताले वीरेन्द्रनगर नगरपालिका–६ मा विद्यालय सञ्चालन गर्ने भन्दै नगर शिक्षा समितिमा निवेदन दिएको तर विद्यालय भवन भने वीरेन्द्रनगर–४ मा स्थापना गरेको छ । जिसीका अनुसार नगर शिक्षा समितिले चालू शैक्षिकसत्रका लागि कुनै पनि विद्यालयलाई अनुमति दिएको छैन । उनले भर्ना रोक्न निर्देशन दिँदा प्रधानमन्त्री र मन्त्रीको हवाला दिएर विद्यालय सञ्चालकले धम्क्याएको आरोप पनि लगाए ।

उनले वीरेन्द्रनगर–६ को वडा कार्यालयको सिफारिसका आधारमा अनुगमनका लागि गए पनि विद्यालय फेला पार्न नसकेको बताए । ‘समताले हाल सञ्चालन गरिरहेको वीरेन्द्रनगर–४ को विद्यालय भवन पनि मापदण्डविपरित छ,’ उनले भने, ‘वीरेन्द्रनगर–४ मा समता स्कूल सञ्चालन भइराखेको जानकारी आएपछि अनुगमनका लागि गएका थियौं विद्यार्थी पढाउनका लागि त्यो उपयुक्त छैन् ।’ यता, समता स्कूलका सञ्चालक उत्तम संजेलले नर्सरी, केजी र यूकेजीको अनुमति लिइएको दावी गरे ।

उनले कक्षा एकको अनुमति लिनका लागि प्रक्रिया अघाडि बढाएको बताउँदै केही निजी विद्यालयको दवावमा सरोकारवाला कार्यालयले अनुमति दिन नमानेको आरोपसमेत लगाए । वीरेन्द्रनगर–६ मा विद्यालय सञ्चालनका लागि नगर शिक्षा शाखामा निवेदन दिएपनि घर मालिकको व्यक्तिगत समस्याका कारण वीरेन्द्रनगर–४ मा सार्नुपर्ने बाध्यता आएको उनको भनाई छ ।

सञ्चालक संजेलले नगर शिक्षा शाखाले विद्यालय सञ्चालनका लागि अनुमति नदिए सिधै ‘केन्द्रबाट’ ल्याइने बताए । गत शैक्षिकसत्रसम्म ४४ जिल्लामा विद्यालय सञ्चालन गरेको समताले चालू शैक्षिकसत्रदेखि ७७ वटै जिल्लामा विद्यालय सञ्चालन सुरु गरेको हो ।