२०७७ कार्तिक ८, शनिबार

आवश्यकताका आधारमा पार्टी कमिटीहरू गठन हुन्छन् : नेता शर्मा

धर्मराज रेग्मी | सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आवश्यक्ताको आधारमा पार्टी कमिटीहरू गठन तथा एकता हुने बताएका छन्। कर्णाली प्रदेशको पार्टी एकता कार्य दलका सदस्य समेत रहेका नेता शर्माले वीरेन्द्रनगरमा पत्रकार भेटघाटमा पार्टी एकताका लागि बनेको विधानका आधारमा पार्टी कमिटीकाे ‘फर्मेशन’ हुने बताए।

अहिले पार्टी कमिटी एकीकरणका लागि आवश्यक गृहकार्य भइरहेकोले नेता शर्माले कार्य दलले तयार पारेको रिपोर्टका आधारमा केन्द्रबाट नै कमिटीको टुंगाे लाग्ने स्पष्ट पारे। नेता शर्माले  भने, ‘कोही व्यक्तिको लागि कमिटिमा थपघट गर्ने काम हुँदैन्। आवश्यक्ताभन्दा अन्य कसैका कुरा प्राथमिकतामा पर्न सक्दैनन्। आवश्यक्ता जे छ। त्यही हुन्छ।’ दुई ठूला पार्टीको एकताबाट जनतामा ठूलो आशा र अपेक्षा भएकाले जनताको अपेक्षा पूरा गर्नका लागि पार्टी कमिटीहरू निर्माण हुने पनि स्पष्ट पारे।

फरक प्रसंगमा नेता शर्माले कर्णाली प्रेदशमा स्रोत र साधनको सम्भावनालाई पहिचान गरी प्रदेशको समृद्धिमा लाग्नुको विकल्प नरहेको बताए। प्रदेशस्तरमा देखिएका कानुनी र संरचनात्मक समस्यालाई समाधान गरी प्रभावकारी रुपमा सरकारले कार्यान्वयन गर्नुपर्ने शर्माले जाेड दिए। पार्टी एकतापछि विकासमा जनताले ठूलो अपेक्षा गरेकाले कडा मेहनत गर्न आवश्यक रहेको पनि उनले बताए। जडीबुटी, कृषि र पर्यटन जस्ता पूर्वाधारको विकास गरी १० वर्षभित्र कर्णालीको मुहार फेर्नका लागि आफू लागि पर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। कर्णाली प्रदेशको विकासका लागि आफूले संघीय सरकारसँग पहल गर्नमा कुनै कसर बाँकी नराख्ने पनि उनले स्पष्ट पारे।

कर्णाली प्रदेशमा न्योचित रुपमा बजेट विनियोजन नभएको भन्ने संचारकर्मीको जिज्ञासामा शर्माले कर्णालीका योजनाहरूको डिपिआर नभएकाले पनि कुन आयोजनामा कति रकम छुट्टयाउने भन्नेमा सम्भव नभएकोले अफ्ठेरो भएको बताए। नेता शर्माले भने, ‘डीपीआर निर्माणको काम प्रदेश सरकारले गर्नेछ। आगामी वर्षमा केन्द्र सरकारले बजेट आवश्यक्ता अनुसार बिनियोजन गर्नेछ।’

  ‘यसपाली पनि बजेट नपरेको हाृेइन। तर त्यो बजेट नै पूर्ण छ भन्ने अवस्था पनि छैन’ नेता शर्माले भने, ‘ एउटा द्रूतमार्ग, भेरी र कर्णाली करिडोर बजेटमा समेटिएका छन्।’ जनचाहनाअनुरुप ठूला योजनाहरू निर्माणका लागि अर्थतन्त्रलाई चलाएमान हुने गरी संघीय सरकार र अन्तर्राष्ट्रिय निकायसँग पनि समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेता शर्माले प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने बताए। उनले भने, ‘हामी ऋण, अनुदान र केन्द्रबाट मागेरै भएर पनि कर्णालीको विकास गर्छौ।’