२०७७ कार्तिक १५, शनिबार

सम्भाव्यता अध्ययनमा केन्द्रित भएर बजेट निर्माण गर्ने कर्णालीकाे तयारी

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले एक वर्ष सम्भाव्यता अध्ययनमै केन्द्रित भएर बजेट निर्माण गर्न लागेको बताउनु भएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशको सम्भाव्यता अध्ययन गर्दै बृहत गुरुयोजना निर्माण गरिसकेपछि मात्र सरकारले विकास आयोजना सञ्चालन गर्ने बताउनु भयो ।

उहाँले अवको एक वर्ष सडक, जलविद्युत, कृषि, पर्यटन, जडीबुटी लगायत क्षेत्रको एकिकृत गुरुयोजना निर्माण गरिने उल्लेख गर्नु भयो ।  उहाँले कर्णालीलाई अहिलेसम्म अथाह सम्भावनाको खानी भनिएपनि सम्भावनाको उपयोग गर्नेबारे कुनै अध्ययन नभएको भन्दै वास्तविक अध्ययन गरेरै प्रदेश सरकारले बजेट लगानी गर्ने उहाँको भनाई छ ।

मुख्यमन्त्री शाहीले सरकारले आगामी वर्षको बजेट निर्माण गरिरहेको भन्दै अबको बजेट वितरण मुखी भन्दा पनि उत्पादनमुखी बजेट आउने उल्लेख गर्नु भयो । उहाँले सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले उत्पादनमुखी बजेट ल्याउन प्रेरित गरेको दावी गर्नु भयो ।
प्रदेश सरकार अहिले विभिन्न समस्यासँग जुध्दै आइरहेको बताउँदै मुख्यमन्त्री शाहीले केन्द्र सरकारले अधिकार दिन नमान्दा प्रदेश सरकारले स्रोत साधन, संरचना नभएपनि कर्णालीको विकासका लागि आफूहरुले जबरजस्ती काम गरिरहेको बताउनु भयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई अरु प्रदेश भन्दा भिन्नै र विकसित प्रदेश बनाउन आफुले कुनै कसुर नछोड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।