२०७७ मंसिर ९, मंगलवार

जोखिम मोल्दै चिटको भरमा यात्रा कहिलेसम्म ?

sabitaकरीब १ हप्ता अगाडि काम विशेषले सुर्खेतको सदरमुकामबाट बसमा चढेर वीरेन्द्रनगरबाट दैलेख तर्फ जादै थिए । यात्राकै क्रममा सुर्खेत दैलेख सडक खण्डको बिचबाटोमा पर्ने छेडामा पुगे । बसमा सिटभन्दा केहि बढि यात्रु थिए ।

त्यहाँ पुग्दा २ जना ट्राफिक बिच रोडमा उभीएर विपरीत साईडबाट आईरहेका सवारी साधनहरु चेकजाच गर्दे थिए । यतिकैमा म चढेको बसको लागी पनि ट्राफिक दाईले सिटी बजाउँदै रोक्ने आदेश गरे । ट्राफिक दाईको सिटीको आदेश मान्दै उक्त्त बस छेडामा रोकियो । ट्राफिक दाईले गाडि साहुलाई प्रश्न गरे मान्छे कति छन्, गाडिसाहुले सजिलै छोटो वाक्यमा उत्तर दिए, सिटमा अट्ने जति ।

गाडिसाहुको यो छोटो उत्तर प्रति सायद शंका लाग्यो होला ट्राफिकदाई लाई । अनि उनले आफ्ना सहकर्मि साथिलाई भने गएर बसमा कति यात्रु छन् हेरेर आईज त । यत्तिकैमा गाडिसाहुले अलि सानो स्वमा खै केके सल्लाह गरेजस्तो गरे । अनि ट्राफिकदाईले त्यसो भए म सँग आउनुस भनेर रोडभन्दा केहि तलको आफनो कार्यालयमा लगे । गाडिका साहु पनि बसको चलानी बोकेर ट्राफिकको पछिपछि लागे ।

एकछिनमा गाडिसाहु फिर्ता भएर आए । गाडिसाहुको हातमा बिलजस्तो देखिने सानो चिट थियो । अनि मैले ति गाडिसाहुलाई सोधे तपाई त्यता किन जानुभएका,े उनले जवाफ दिए, बसमा सिटभन्दा बढि यात्रु भएकाले कुरा मिलाउन गएको । अनि हास्दै मैले पुन प्रश्न गरे, कसरी मिलाउनु हुन्छ कुरा ? उनले अलि असहज भए जस्तै गरेर सानो स्वरमा जवाफ दिए, पैसा तिरेर । त्यसपछि उनले बोल्न अलि अफठ्यारो माने जस्तो गरे । अनि मैले उनलाई थप प्रश्न गर्न चाहिन । त्यसपछि हामी निरन्तर यात्रामै थियौ ।

सडकमा परेका सानासाना खाल्डाहरुले बस कुनैबेला सडकभन्दा केहि माथि पुग्थ्यो । गुरुजी पनि बस चलाउनमा केहि गाहे भईरहेको जस्तो गर्थे । साघुरो सडक अझ खाल्डैखाल्डा परेको । विपरीत साईडबाट सवारीसाधनहरु आएभने बल्लतल्ल साईड दिएर बाटो क्रस गर्थे । बेलाबेलामा मुग्लीनमा जस्तै गाडिहरु जाममा परेर केहि समय रोकिदै हिड्दै गर्थे ।

साघुरो बाटो डम्म कुहिरो दिउसै लाईट बालेर हिड्नुपर्ने अनि सिटभन्दा बढि यात्रु, आखीर दुर्घटनाको बाटो त हामि आफैले रोजेकोे रैछनी त । यसरी यात्रुले यो जोखिमको यात्रा गर्ने कहिलेसम्म त ? आखिर यो क्रम कहिलेसम्म ? बसमा सिट भन्दा बढि यात्रु राख्न नपाईने कुराको जानकारी हुँदाहुदै पनि कहिलेसम्म राखिरहने त ? यात्रु धेरै हालेको भन्दै कारबाहिको नाममा जरीवानाको चिट ट्राफिकले कहिलेसम्म काटिरहने त ? यी यस्तै प्रश्नहरु मेरो मनमा खेलिरहे । वास्तवमा यी कुराहरु एकपटक सबैले गहन रुपमा सोच्नु जरुरी छ ।

यो त भयो धेरै यात्रु राखेर ट्राफिकले चिट काटेको कुरा । अब अर्को प्रसंग । साउन २७ सोमबार गते विहान १० बजेतिर भर्खरै अफिस पुगेर फेसबुक खोलेको थिए । एक्कासी एउटा म्यासेज आईपुग्यो । मैले म्यासेज पढ्न थाले । घरबाट आएको गाडि दुर्घटना भएछ । २२ जना घाईते भए भन्ने कुरा आको छ । बाकि विवरण आउदै छ रे के रैछ ? कुरा बुझेर मलाई फोन गर्नु म्यासेजमा यहि लेखिएको थियो । त्यो म्यासेज थियो दिदिको । मैले त्यो म्यासेज हताहतार एकैसासमा पढेर सकाय ।

अनि घरमा मम्मीलाई फोन गरेर सोधे हाम्रो गाउँबाट कोहि बजार आएका थिए कि ? फिनिकाडाबाट आएको बस दुर्घटना भयो रे । उताबाट जवाफ आयो कोहि थिएनन् । अनि मनलाई शान्त पार्न खोज्दै मम्मी म हजुरलाई पछि फोन गर्छु भनेर फोन राखे । दुर्घटनाको करीब आधा घण्टा पछि थाहा भयो ।

फिनिकाडाबाट आउँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस कपासे नजिकै धर्मशाला नजिकै दुर्घटना भएर बसमा सवार ४५ जना घाईते भएछन् । घाईते मध्य पनि ४ जना गम्भीर घाईते । सदरमुकाम वीरेन्द्रनगरका लागी फिनिकाडाबाट हरेक दिन ९बजे गाडि छुट्छ । उक्त बस १० बजेतिर नै दुर्घटनामा परेको रहेछ । सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासे ब्यारेक नजीक बस अनियन्त्रित हुदाँ सडकबाट ११ मिटर तल खसेछ । तत्कालै नेपाली सेना र नेपाल प्रहरीले छिटो भन्दा छिटो घाईतेहरुलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत र माया नर्सिङ्ग होममा भर्ना गर्यो ।

त्यस दिन के भयो मलाई थाहा छैन तर फिनिकाडाबाट आउने उक्त बसमा कहिल्यै पनि ट्राफिक नियम अनुसार हुर्नुपर्ने कुनै क्रियाकलाप भएनन् । गाडिका सिटभरी यात्रु, कच्ची बाटोको यात्रा कति गाहे हुन्छ त्यो भोगाई कैयौलाई थाहा भएकै कुरा हो । फिनिकाडाबाट बस आउँछ, छेडामा आएर रोकिन्छ । ट्राफिक प्रहरी त्यहि हुन्छ तर सिटभन्दा बढि यात्रुहरु भएपनि लोकल बस हो भन्दै जरीवानाको नाममा हरेक दिन चिट काट्छ । आखीर यो कहिलेसम्म ? त्यसो गर्दा यात्रुको ज्यान त सिधै जोखिममा परी नै हाल्यो ।

सोमबार धर्मसालामा दुर्घटना भएको उक्त बसको आयु पनि अन्तिम अवस्थामा आईसकेको केहि समय अगाडी उक्त बसकै समितिले जानकारी दिएका थिए । यसरी थोत्रा पुराना भएका बसहरुलाई आजैबाट यात्रु बोक्न बन्द गरीयो भने मात्रै पनि सडक दुर्घटना कम गर्नमा सहयोग मिल्छ । नेपालमा सवारीसाधनको दुर्घटनाबाट हरेक दिन अत्यधिक नागरीकहरूको ज्यान गईरहेको छ । हरेक दिन दुर्घटनाका घटनाहरू समाचारमा प्रकाशन प्रसारण भईरहेका छन् । अनि ति दुर्घटनाका समाचारहरु ह्दयविदारक अनि अत्यन्त कहालीलाग्दा नै हुन्छन् । एकठाउँको दुर्घटनाले पुरै गाउँ शोकाकूल हुनुपर्ने अवस्था आउँछ ।

तर पनि सम्बन्धित निकाय वेवास्ता गरेर बसीरहेको छ । बस दुर्घटना भएको केहि समय सम्बन्धित पक्षले केहि चासो देखाएको जस्तो गरेपनि दुईचार दिन मात्रै गर्ने गर्दछ । सरकारलाई जिम्मेवार गराउनको लागी अर्को ठुलो दुर्घटना कुर्नुपर्ने हुन्छ । हामी यात्रुका निम्ति यो भन्दा बढी बिडम्बनाको कुरा अरु के हुन सक्दछ । कहिलेकाहि रोक्नै नसकिने तरीकाले पनि बस दुर्घटना हुन सक्छन् तर यो फरक कुरा हो थोरै जसो दुर्घटनालाई चौतर्फी प्रयासबाट टार्न सकिन्छ । सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी छ ।

आवश्यक सतर्कता अपनाउन सक्ने हो भने दुर्घटना कम गर्न सकिन्छ । नेपालमा हुने सवारी साधन दुर्घटनामा सबभन्दा बढी जिम्मेवार सरकार नै हुृन्छ । सरकारले दुर्घटना कम गर्ने मामिलामा आवश्यक ध्यान नपुराएको कारणले नै बढी दुर्घटना हुने गर्दछ । आवश्यक नीति नबनाएको कारणले पनि बढी दुर्घटना हुन्छ । गाडी दुर्घटना हुनुमा बस मालिक पनि उत्तिकै जिम्मेवार हुन्छन् । उनीहरूले एउटा बसबाट दुइबटा बस कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान त दिन्छन् तर उनीहरूका बस थोत्रा भए सयौं मान्छेको ज्यान पनि जान सक्दछ भन्ने कुरामा खासै संवेदनशीलता देखाउँदैनन् । यसैले सडक दुर्घटना बढी हुने गर्दछ ।बस दुर्घटनामा यातायात विभाग पनि जिम्वेवार छ ।

कैयौं असक्षम व्यक्तिले पनि विभिन्न तरिकाले लाइसेंस प्राप्त गरेका कुरा पनि सुनिन्छ । यस्ता व्यक्तिबाट दुर्घटना हुन सक्ने संभावना रहन्छ । दुर्घटना बढी हुनुमा बिमा कम्पनी पनि जिम्वेवार छ । बसको विमा गराइने हुनाले बसवालाहरूले थोत्रा बस संंचालने गर्ने र बस दुर्घटना भएमा त्यसबाट बढी पैसा असुल गर्ने प्रबृतिले पनि सवारी साधनको दुर्घटनालाई प्रोत्साहित गर्दछ । दुर्घटना बढी हुने एउटा कारण ट्राफिक प्रहरी कर्तव्यनिष्ट नहुनु पनि हो । यदि ट्राफिक प्रहरीले सवारी साधनलाई ज्यादा यात्री बोक्न दिन्न भने पनि दुर्घटना कम हुन सक्दछ ।

यस बाहेक ट्राफिक प्रहरीले तीब्र गतिमा गाडी हाँक्ने, मादक पदार्थको सेवन गरेर गाडी हाँक्ने, लामो दूरीमा गाडी चलाउँदा अनिवार्य रुपमा आलो पालो गर्नलाई दुई जना ड्राइभर राखिएको छ छैन राम्ररी जाँच्ने जस्ता कुरामा आवश्यक ध्यान पुराउने हो भने पनि दुर्घटना कम गर्न सकिन्छ । कहिलेकाहीं गाडी ड्राइभरले नचलाएर खलासीले पनि चलाएका हुन्छन् ।

यात्रीहरू बोकेर हिंडेको गाडी खलासीले चलाएर दुर्घटना गराएमा को जिम्मेवार हुने ? बढी सवारीसाधन दुर्घटना हुनुको अर्को कारण ट्राफिक नियमप्रति नागरिहरूको अज्ञानता पनि हो । विशेग गरी गाउँ देहातबाट आएका मान्छेहरू ट्राफिक नियमदेखि अनभिज्ञ हुनाले पनि उनीहरूले जथाभावी बाटो काटिदिंदा दुर्घटना हुने गर्दछ । सवारीसाधन दुर्घटना हुनुमा यात्रीहरू पनि कम जिम्वेवार हुँदैनन् । यात्रीहरूलाई जहिले पनि जहाँ जाँदा पनि हतार भएको हुन्छ । उनीहरू गाडीमा कोचिएर पनि यात्रा गर्न तयार हुन्छन् । गाडीभित्र ठाउँ नभए छतमा चढेर पनि यात्रा गर्दछन् । यसले गर्दा ओभरलोड हुन पुग्दछ र दुर्घटना हुन्छ ।