२०७७ कार्तिक ३, सोमबार

साइबर क्राइम र ह्युमन ट्राफिकिङ अनुसन्धान गर्न बेग्लै ब्युरो

विश्वभर पुगेर अनुसन्धान गर्न सक्ने

साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्युरो बन्दै छ । साइबर क्राइम ब्युरो (सिसिबी) र ह्युमन ट्राफिकिङ ब्युरो (एचटिबी) गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुवै ब्युरो केही साताभित्रै गठन हुनेछन् ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने, ‘सरकारले स्वीकृति दिइसक्यो । नेपाल प्रहरीले आवश्यक नीति नियम बनाउँदै छ । यसका लागि प्रहरी संगठनका विज्ञटोली गठन भए । केही दिनभित्रै उनीहरूले प्रतिवेदन पेस गर्नेछन् र सोही आधारमा ब्युरो गठन हुनेछन् ।’

संगठनमै कान्छो ब्युरो बन्न लागेको सिसिबीले साइबर अपराध सम्बन्धमा मात्रै अनुसन्धान गर्नेछ । एचटिबीले भने मानव बेचबिखनका विषयमा गहिरिएर अनुसन्धान गर्नेछ ।

सिसिबीमा डिआइजी र एचटिबीमा एसएसपीको नेतृत्व

प्रधान कार्यालयका अनुसार सिसिबीको नेतृत्व प्रहरी नायब महानिरीषक (डिआइजी)ले गर्नेछन् भने एचटिबीको नेतृत्व वरिष्ठ प्रहरी उपरीक्षकले गर्नेछन् । सिसिबीका लागि ६८ दरबन्दी स्वीकृत गरिएको छ । एचटिबीका लागि ५८ दरबन्दी स्वीकृत भएका छन् ।

दुवै ब्युरोमा आबद्ध हुने अनुसन्धान अधिकृत सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका हुनेछन् । दुवै ब्युरो केन्द्रीय ढाँचाअनुसार सञ्चालन हुनेछन् ।

प्रहरी प्रवक्ता एसएसपी थापाले भने, ‘दरबन्दी स्वीकृत भएका छन् । आवश्यक भौतिक संरचना र केही कानुनी काम टुंगिएपछि ब्युरो गठन भएर भटाभट काम सुरु गर्छन् ।’

सिसिबीको निर्देशिका, कार्यविधि तथा नियमावलीको मस्यौदा डिआइजी सुशील भण्डारीको नेतृत्वमा र एचटिबीको डिआइजी नारायणसिंह खड्काको नेतृत्वमा बनिरहेको छ ।

निर्देशिकाअनुसार ब्युरो चल्ने

प्रहरी प्रधान कार्यालयका अनुसार सरकारको नीति तथा कार्यक्रमअनुसार दुवै ब्युरो चालू आर्थिक वर्षदेखि नै सञ्चालनमा आउनुपर्ने भनिएको छ । यसका लागि आवश्यक जनशक्ति र भौतिक संरचना भए पनि ऐन र नियमावली बन्दै छन् ।

नियमावली बन्न गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकबाट पास हुनुपर्छ । ऐनका लागि भने संसद् नै पुग्नुपर्छ । यी दुवैले केही समय लिन्छन् । यस अवधिसम्मका लागि दुवै ब्युरो निर्देशिकाअनुसार चल्नेछ । निर्देशिका निर्माण करिब टुंगिएको छ ।

दुवै ब्युरोको क्षेत्राधिकार विश्वभर : एसएसपी शैलेश थापा, प्रवक्ता, नेपाल प्रहरी

साइबर अपराध र ह्युमन ट्राफिकिङ ‘ट्रान्सनेसनल’ अपराध हुन् । संसारका जुनसुकै कुनाबाट यस्तो अपराध हुन सक्छ । त्यसैले, दुवै ब्युरोले अनुसन्धानको दायरा अब त्यहाँसम्म पु¥याउन सक्नेछन् । हामीले नियमावलीको मस्यौदा त्यसैगरी बनाएका छौँ । संशोधित मुलुकी अपराधसंहिता, ०७४ ले यसको व्यवस्था गरिदिएको छ ।