२०७७ कार्तिक ५, बुधबार

विंग्स फाउन्डेसनकाे प्रयासमा ‘अञ्जली बादीको उपचार सफल’

सुर्खेत ।  मुटुमा प्वाल भएकी वीरेन्द्रनगर ११ झुप्राखोलाकी नौ वर्षीया अञ्जली बादीको उपचार सफल भएको छ । आर्थिक अभावले उपचारमा समस्या भएकी बादीको उपचारमा विंग्स फाउन्डेसन सुर्खेत मार्फत सहयोग मिले पछि अञ्जलीको सफल उपचार भएको हो ।

नेपाल बाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा गौतम र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतले फाउन्डेसको माध्यामबाट सहयोग संकलन गरि अञ्जलीको उपचारमा सहयोग गरेका थिए ।

फाउन्डेसनका क्रियाशील सदस्य अहेब गौतम र स्टाफ नर्स बस्नेतले आफैंले केहि र सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरि ५३ हजार ६ सय ७० रुपैयाँ संकलन गरि सहयोग गरेको गौतमले जानकारी दिनुभयो । फाउण्डेसनले उपचारका लागि आवश्यक रकम सहित अञ्जलिको अप्रेसन भएको गंगलाल अस्पताल काण्माण्डौँमा पनि समन्वय गरि सहयोग गरेको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा अञ्जलीको उपचार हुन नसकेको थाहा पाएपछि उपचारमा लाग्ने सबै रकम बस्नेत र गौतमले जुटाएका थिए । फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका सञ्चालक डा. नवराज केसीले पनि अञ्जलीको जीवनरक्षाका भन्दै विषेश पहल गर्नु भएको थियो । डा. केसीका अनुसार, अञ्जलीलाई जन्मँदादेखि नै मुटुमा देखिएको प्वाल नपुरिएका कारण समस्या भएको थियो । मुुटुमा देखिएको प्वालको समयमा नै शल्यक्रिया भएपछि अञ्जलिको ज्यान बजेको छ ।

सरकारले मुटु रोगको उपचार निःशुल्क गर्ने भए पनि अन्य खर्च समेत व्यहोर्न नसकेका अञ्जलीका बुबा घनश्याम बादीले विंग्स फाउन्डेसनका प्रतिमा र कल्पनाले सहयोगी हातहरु जुटाएर आफनो छोरीको ज्यान बचाएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । २०७१ साल देखि उपचारको अभावले घरमा थलिएकी नौं वर्षीय अञ्जलीको मुटुको अप्रेसन सफल भएपछि उनि अहिले विद्यालय जान थालेकि छिन ।