२०७७ कार्तिक ११, मंगलवार

जाजरकोटमा पहिरोमा परी आठको मृत्यु

  जाजरकोट  । जाजरकोट सदरमुकाम आईतबार राती खलंगामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोले पुरेका ८ जनाको शव निकालिएको छ । १ जना अझै बेपत्ता छन् । अविरल बर्षाका कारण मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनकी छोरीहरू ९ वर्षीया भावना परियार,६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिशा परियार रहेका छन् ।

उनीहरूको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । उनीहरू सबै भेरी ३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

छाती, टाउको र खुटटामा चोट लागेका लुहारको अवस्था गम्भीर रहेको बताइएको छ । सोहि ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे ६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको मृत्यु भएको छ । त्यसैगरी नलगाड १ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको शव फेला परेको छैन ।

पानी परिरहेकोले उद्धारमा समस्या भएपनि अबेर मात्र उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए । घटनास्थलबाट विहान एक जनाको जीवितै उद्धार गरिएको थियो । भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको हो । उनको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ ।