२०७७ कार्तिक ११, मंगलवार

कर्णालीमा पार्टि एकता ‘ठूला नेताले आफू अनुकुल गर्न खोजेको आरोप’

धर्मराज जिसी / सुर्खेत १ भदौ । कर्णाली प्रदेशमा नेकपाको पार्टी एकताको लागि जिल्लागत रुपमा नेतृत्व साविकका कुन पार्टीले गर्ने भन्ने भागबण्डा लगभग टुङ्गो लगाएको नेकपा स्रोतले बताएको छ ।

जसअनुसार पूर्व एमालेले सुर्खेत, दैलेख, जुम्ला र डोल्पा तथा पूर्वमाओवादी केन्द्रले सल्यान, रुकुम, जाजरकोट र हुम्ला जिल्लाको नेत्तृत्व गर्ने भएका छन् । स्रोतका अनुसार मुगु र कालिकोटका बारेमा छलफल जारी रहेको छ । तर अन्ततः कालिकोटमा पूर्व माओवादी केन्द्र र मुगुमा पुर्व एमालेको नेतृत्व पाउने स्रोतको दावी छ ।

कर्णाली प्रदेशको नेकपाको नेतृत्वमा अध्यक्षमा प्रमुख दाबेदार पूर्व एमालेका यामलाल कँडेल छन् । उनि नहुदा एमालेबाट नेता गोरख बोगटीको नाम चर्चामा आएको छ । भने पूर्व माओवादीको तर्फबाट मायाप्रसाद शर्माको चर्चा भएको छ । स्रोतका अनुसार साविकका् माओवादी केन्द्रका जनार्दन शर्मा कर्णालीको प्रदेशको ईन्चार्ज हुने भएकोले प्रदेश अध्यक्ष पूर्व एमालेले पाउने सम्भावना छ ।

‘कर्णाली प्रदेश सभाका सदस्य समेत रहेका यामलाल कँडेल अध्यक्ष नभएमा पूर्व एमालेका नेता गोरख बहादुर बोगटीले अध्यक्ष पाउन सक्ने सम्भावना छ ।’ स्रोतले भन्यो ‘पूर्व एमालेबाट अध्यक्ष भएमा पूर्व माओवादीको तर्फबाट प्रदेश सचिवमा रामदिप आचायार्वको सम्भावना देखिन्छ ।’ यता पूर्व एमाले र माओवाली केन्द्रको पार्टी एकताको विषयलाई लिएर कर्णालीका केही स्थानिय नेता कार्यकर्ताले असन्तुष्टी पोखेका छन् ।

कर्णाली प्रदेशमा नेकपाको एकता प्रक्रियामा गुटबन्दीलाई प्रोत्साहान हुने गरी एकतालाई अघि बढाएको स्थानीय नेताहरुले गुनासो गरेका हुन् । कार्यकर्तालाई नेतृत्वले भुठा आश्वासन बाँडेको तथा पार्टी एकतामा पद्धतीका हिसाबले कर्णालीका नेताले गम्भिर गल्ती गरेको प्रदेश स्तरीय एक नेताले आरोप लगाए ।

नाम नबताउने सर्तमा नेकपाका ती नेताका अनुसार ‘कर्णाली प्रदेशका ठूला भनेका नेताले आ—आफ्नो जिल्लामा आफू अनुकुल पार्टी कमिटी निर्माण गर्ने गरी जिल्लाको नेतृत्वको बाँडफाँड गरेकाले यसले दिर्घकालिन रुपले गुटलाई प्रसय दिएको छ ।’

ठूला नेताहरुले आफ्नो जिल्लामा आफ्नो अनुकुलको संगठनमा मात्र चाँसो देखाएका छन् । स्रोतका अनुसार जनार्दन शर्माले रुकुम, शक्ती बहादुर बस्नेत ले जाजरकोट, महेन्द्र बहादुर शाहीले कालिकोटमा आफ्नो अनुकुलको संगठनमा नेतृत्व लिनमा पहल र अडान राखेको त्यस्तै पूर्व एमालेका यामलाल कँडेलले सुर्खेत, चन्द्र बहादुर शाहीले मुगु, तथा प्रकाश ज्वालाले सल्यान लगायतका आफु अनुकुलका जिल्लामा नेतृत्वको दावी तथा अडान गरेका छन् । जसले पछि बन्ने पार्टीमा नकरात्मक संदेश दिने स्रोतको दावी छ ।

यता कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेत जिल्लामा पूर्व एमालेले नेतृत्व लिने भए पनि सुर्खेत पूर्व एमाले पंक्तिमा सुर्खेतको भावी नेकपाको नेतुत्वकाबारेमा चर्चा परिचर्चा व्यापकरुपमा भएको छ । एक स्रोतका अनुसार जिल्ला अध्यक्षको दौडमा झण्डै आधा दर्जन नेताहरु लागेका छन् । पूर्व उपाध्यक्ष अमृत बिसी, चुडामणी शर्मा, केवी हमाल र मोहन बडुवालको चर्चा रहेको छ ।

त्यस्तै सचिवका लागि पूर्व माओवादी केन्द्रबाट जित बहादुर राना, गणेश भण्डारी , हरिमाया शर्मा र लोकेन्द्र रानाको चर्चा रहेको छ । तर यदी पूर्व जिल्ला संयोजक कृष्ण जिसी सचिवको जिम्मेवारी लिन तयार भए अन्य आकांक्षी पछि हट्ने एक नेताको दावी छ ।